काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सान्त्वना जित हात पारेको छ। समूह 'ए' को अन्तिम खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेर पहिलो जित हात पारेको हो। दुवै टिम यसअघि नै समूह चरणबाटै बाहिरिसकेका टिम हुन्।
मंगलबार मुलपानीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ८९ रनमा अलआउट भयो। गण्डकीका लागि राहुल शर्माले सबैभन्दा बढी ४१ रन जोडे। उनले ४९ बलमा ४ चौका र १ छक्का हिर्काए। आकास थापाले १२ रन र किशोर महतोले १४ रनको योगदान दिए। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ पेभेलियन फर्किए। बलिङमा सुदूरपश्चिमा विनोद लामाले ५ विकेट लिए। लामा खेलको म्यान अफ दि म्याच भए। महेश अधिकारी र शेर मल्लले २–२ विकेट हात पारे।
९० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो। सुदूरपश्चिका लागि लोकेश बमले १५ रन बटुल्दा नरेन्द्र चन्दले नटआउट २३ र आकास चन्दले नटआउट २९ रनको योगदान दिए। बलिङमा गण्डकीका किशोर महतोले ३ विकेट लिए। विपीन खत्रीको नाममा २ विकेट रह्यो।
प्रतियोगितामा समूह 'ए' बाट प्रदेश ३ र एपिएफ सेमिफाइनलमा पुगिसकेका छन्। समूह 'बी' बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान पक्का गरेका छन्। सेमिफाइनलमा बुधबार प्रदेश ३ र आर्मी तथा बिहीबार एपिएफ र पुलिसबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।