काठमाडौं– दुई वर्षको करार अवधिका लागि युरोपियन मुलुक टर्की पुगेका १ हजार ३ सयभन्दा बढी कामदार करार अवधि पुरा नहुँदै गत पुसदेखि फागुन महिनाबीचमा नेपाल फर्किए। नेपालबाट स्कापफोल्डर कामका लागि भनेर टर्कीस्थित आइजिए कम्पनीमा पुगेका ती कामदारलाई उक्त कम्पनीले काम सकिएको भन्दै नेपाल फिर्ता गरिदियो।
फिर्ता हुने अधिकांश कामदारले ३ लाखदेखि ५ लाखसम्म म्यानपावर कम्पनीलाई बुझाएका थिए। दुई वर्षको करार अवधिका लागि टर्की उडेका धेरैजसो कामदार गएको ७ महिनादेखि ११ महिनाभन्दा बढी बस्न पाएनन्।
युरो नेपाल, डेल्टा म्यानपावर कम्पनी, एचआर म्यानपावर तथा अवसर नेपाल लगायत विभिन्न म्यानपावर कम्पनीमार्फत टर्की पुगेका उनीहरुलाई मासिक ५ सय अमेरिकी डलर कमाइ हुने बताइएको थियो। टर्की पुगेपछि पनि भने जस्तो स्कापफोल्डरको काम नभएर क्लिनर र लेभरको काम भएको पीडितहरुले बताउँदै आएका छन्।
कामदारले हस्ताक्षर गरेर गएको करारनामा पत्रमा दैनिक ८ घन्टा काम र ओभरटाइम सुविधा भनिए पनि उनीहरुले दैनिक १२ घन्टा खटिँदा पनि भनेजति तलब पाएनन्।
दुई वर्षको करार अवधिका लागि भनेर प्रतिव्यक्ति ३ लाखदेखि ५ लाखसम्म बुझाएर विदेशिएका युवाहरुले फर्किएपछि बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। आफूहरुलाई ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध मुद्दा दायर गरे पनि कारबाही नभएकोमा उनीहरु निराश छन्।
टर्कीको आइजिए कम्पनीमा १ हजार ३ सयभन्दा बढी कामदार अलपत्र परेको पीडितहरुले बताउँदै आए पनि विभागमा भने टर्कीबाट फर्किएका करिब ४ सय कामदारले उजुरी दिएको विभागका निर्देशक हरिप्रसाद ज्ञवाली बताउँछन्।
टर्कीपीडित युवाहरुले वैदेशिक रोजगार विभागमा करोडौंको बिगो दाबी गर्दै उजुरी दिएका छन्।
पीडितको क्षतिपूर्तिबारे विभाग नै अन्योलमा
रोजगारीका लागि टर्की जाने क्रममा ठूलो संख्यामा कामदार ठगिएपछि पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने सन्दर्भमा विभाग आफै अन्योलमा देखिएको छ।
टर्कीबाट अलपत्र परी फर्किएका धेरैजसो कामदारसँग आफूले म्यानपावर कम्पनीलाई बुझाएको रकमको प्रमाण पनि नभएकाले क्षतिपूर्ति उपलब्ध गराउने सन्दर्भमा समस्या परेको विभाग बताउँछ।
यस्तै, २ वर्षको करारमा गएका तर ६/७ महिनामै फर्किउका कामदारलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउनेभन्ने बारे विभागले निर्णय लिन सकेको छैन।
विभागका निर्देशक ज्ञवाली भन्छन्, ‘टर्कीबाट फर्किएका युवाहरुको समस्या निकै जटिल देखिएको छ, निकै ठूलो मागदाबी सहित ठूलो संख्यामा उजुरी परेको छ। यसो हेर्दा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन म्यानपावरको धरौटी रकमले पनि नपुग्ने देखिन्छ।’
युरो नेपालका सञ्चालक अझै फरार
टर्कीस्थित ९ सयभन्दा बढी नेपाली कामदारलाई रोजगारीका लागि पठाउने युरो नेपाल म्यानपावर कम्पनीका सञ्चालक लालबाबु कवाडी अझै फरार रहेको विभागले जनाएको छ।
टर्कीको आइजिए कम्पनीले युवाहरुलाई ६/७ महिनामै नेपाल फर्कन भनेपछि उनीहरुले युरो नेपालका सञ्चालक कवाडीलाई खबर गरेका थिए। त्यसबेलादेखि नै उनी सम्पर्कमा छैनन्।
विभागमा कवाडीविरुद्ध उजुरी परेपछि म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरिएको छ। सञ्चालक कवाडीविरुद्ध प्रहरी परिसर काठमाडौंमा पक्राउपुर्जी जारी गरिसकिएको विभागले जनाएको छ। पुर्जी जारी भएको ५ महिना बितिसक्दा पनि कवाडीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। कवाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
डेल्टाका सञ्चालक पक्राउ लगत्तै रिहा
डेल्टा म्यानपावरबाट टर्की कामदारले पनि विभागमा उजुरी गरेका थिए। उजुरीकै आधारमा उक्त कम्पनीका सञ्चालक राजन केसी गत फागुन २९ गते पक्राउ गरे। तर पक्राउ गरेको केही दिनमै केसी रिहा भए।
टर्की पठाइदिने भन्दै कामदारबाट मोटो रकम असुली गरे पनि उनले रकम लिएको कुनै पनि प्रमाण दिएका थिएनन्। पीडित पक्षसँग ठगीको प्रमाण नभएपछि केसीलाई रिहा गरेको प्रहरीले जनाएको छ। केसीलाई प्रहरीले जमानीमा रिहा गरेको जनाएको छ।
सञ्चालकलाई नै प्रहरीले रिहा गरेपछि ठगिएका पीडितहरुले क्षतिपूर्ति पाउन सकेका छैनन्।
व्यक्तिगत बैंक खाता नहुँदा समस्या
टर्कीको आइजिए कम्पनीले करार अवधि अगावै पहिलो, दोस्रो र तेस्रो चरणमा गत पुसमै फर्किएका कामदारलाई प्रतिव्यक्ति ५ सय डलरदेखि ७ सय डलरसम्म क्षतिपूर्ति पठाउने जनाएको थियो। पछिल्लो चरणमा फर्किएकालाई कम्पनी आफैले प्रतिव्यक्ति ७ सय डलरसम्म दिएको पछिल्लो समयमा फर्किएका कामदारले बताउँछन्।
क्षतिपूर्ति लिन बाँकी अन्य कामदारलाई पनि प्रतिव्यक्ति ५ सयदेखि ७ सय डलर कम्पनीले पठाउनेबारे कुराकानी भएको विभागका निर्देशक ज्ञवालीले बताए।
आइजिए कम्पनीले आफूले कामदारलाई पठाएको रकम हिनामिना नहोस् भन्दै उनीहरुकै बैंक खाता माग गरेको थियो। तर विभागमा उजुरी दिएका धेरै पीडितले बैंक खाता नम्बर उल्लेख नगरेकाले विभागले पीडितहरुको खाता नम्बर पठाउन नसक्दा समस्या भएको निर्देशक ज्ञवालीको भनाइ छ।
‘कम्पनीले काम गरेको समयको आधारमा ५ सयदेखि ७ सय डलरसम्म क्षतिपूर्ति रकम पठाउने पक्का भएको छ,' उनले भने, 'यो रकम तलमाथि नभई पीडितहरुसम्म पुर्याउन विभागकै खातामा सो रकम पठाउन हामी पहल गरिरहेका छौं।’
एआइजी कम्पनीले केही समयका लागि कामदार आवश्यक परेकाले फ्री भिसा फ्री टिकटमा कामदार माग गरे पनि म्यानपार सञ्चालकहरुले भने २ वर्षको करार अवधि भन्दै प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म असुली गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।