काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ।
लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँच वटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ। जसमा सोल ट्राइगन नेदरल्यान्ड, केयर इनर्जी स्कटल्यान्ड, टेक्साना रिसोर्सेस अमेरिका, विविवि च्याम्पियन्स अमेरिका र इएवीजी कम्पनी युएई छन्।
सोल ट्राइगन, केयर इनर्जी र टेक्साना रिसोर्सेस कम्पनीले अन्वेषणको काम गरे पनि नेपालमा देखिएको राजनीतिक हिंसा र अस्थिरताका कारण बीचमै काम छाडेका थिए।
परियोजना प्रमुख सुधीर रजौरे पेट्रोलियम अन्वेषणका लागि नेपालको अर्थतन्त्र र जनशक्तिले सम्भव नहुने भएकाले विदेशी कम्पनीको भर पर्नुपरेको बताउँछन्। 'पेट्रोलियम पदार्थ कहाँकहाँ छ भन्नेबारे हामीले प्रारम्भिक अनुसन्धान गरिसकेका छौँ, विशिष्ट खालका अनुसन्धानको लागि विदेशी कम्पनीको भर पर्नुपर्ने हुन्छ,' उनले भने।
परियोजनाले गरेको अध्ययनअनुसार नेपालको चुरे र तराई क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने निष्कर्ष निकालेको छ। परियोजनाले प्रारम्भिक पेट्रोलियम अन्वेषणका लागि पूर्वदेखि पश्चिमसम्ममा तराई र चुरेका १० खण्ड बनाएर अन्वेषण गरेको थियो।
परियोजनाका प्रमुख रजौरेले नेपालको भूमिजस्तै रहेको भारतको आछाम र पाकिस्तानको पोटवारमा पेट्रोलियम पदार्थ उत्पादन भइरहेकाले यहाँको तराई र चुरे क्षेत्रमा पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावना उच्च रहेको बताए।
गत साउनमा मात्र चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालमा आएको बेला नेपालको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्झौता गरेको थियो। जसमा सवा दुई अर्बसम्म सहयोग गर्ने उल्लेख छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।