काठमाडौं- सरकारले नियमित तलब सुविधा बाहेक बैठकभत्ता, खाना खर्च, खाजा खर्च तथा प्रोत्साहन भत्तालगायत खर्चको मापदण्ड तोकेको छ।
आर्थिक कार्यविधि नियमावली २०६४, भ्रमण खर्च नियमावली २०६४, कार्य विभाजन नियमावली २०७४ ले निर्दिष्ट गरेको जिम्मेवारीका आधारमा मुलुकको वित्तीय तथा मौद्रिक क्षेत्रमा सम्बन्धित नीतिहरुको तर्जुमा तथा कार्यान्वयन गर्नका लागि भन्दै अर्थ मन्त्रालयले कार्य सञ्चालन निर्देशिका २०७५ जारी गरेको हो।
मन्त्रीपरिषद्बाट गत चैत ८ गते स्वीकृत भएको उक्त निर्देशिका कार्यान्वयनमा आईसकेको छ। निर्देशिकामा उल्लेख भएको भत्ता तथा खर्चसम्बन्धी व्यवस्था गरी अर्थ मन्त्रालयले त्यसका लागि निश्चित मापदण्ड तोकिदिएको छ।
निर्देशिकाले कस्तो अवस्थामा भत्ता दिने र कस्तो अवस्थामा नदिने भनेर क्षेत्र किटान गरिदिएको छ। निर्देशिकाले बैठकभत्ता दिने आधारहरु निम्नानुसार तोकेको छ।
बैठकभत्ता दिने वा नदिने अवस्था
-स्पष्ट विषयवस्तु र कार्ययोजना बेगर बैठक बस्न नपाइने।
-बैठक कार्यालय समय अघि वा पछि हुनुपर्ने।
-एउटै निकाय र अन्तर्गतका पदाधिकारी तथा कर्मचारी मात्र बस्ने बैठकमा भत्ता नपाइने।
-कानुनअनुसार गठन भएका समितिहरुका लागि मात्र बैठकभत्ता दिने
-कुनै आयोजना विशेषमा मन्त्रालयका सविच वा विभागिय प्रमुखको अध्यक्षतामा गठन हुने निर्देशन समितिमा भत्ता नदिने।
भत्ता कति दिने?
मन्त्रीस्तरले अध्यक्षता गर्ने बैठकका पदाधिकारीलाई प्रति बैठक २ हजार ५ सय रुपैयाँ बैठकभत्ताका रुपमा दिइनुपर्ने व्यवस्था कार्य सञ्चालन निर्देशिकाले गरेको छ।
त्यसैगरी, संवैधानिक पदाधिकारी वा राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीले अध्यक्षता गर्ने बैठकका पदाधिकारीलाई प्रति बैठक २ हजार रुपैयाँ र अन्य पदाधिकारी तथा व्यक्तिहरुले अध्यक्षता गर्ने बैठकका पदाधिकारीलाई प्रति बैठक १ हजार ५ सय रुपैयाँका दरले बैठकभत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।
विकास समिति ऐन ऐन २०१३ अनुसार अर्थ मन्त्रालयबाट विभिन्न समयमा गठन भएका विकास समिति सदस्यलाई प्रति बैठक २ हजार रुपैयाँ भत्ता दिने व्यवस्था गरिएको छ।
खाजा, खाना खर्च र प्रोत्साहन कति दिने?
-अतिरिक्त समयमा काम र सोबाट प्राप्त हुने नतिजा लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित गराईएको हुनेपर्छ।
-नियमित कामबाहेक विशेष कामका लागि दैनिक दुई घण्टा भन्दा बढी अतिरिक्त समय काम गर्ने कर्मचारीलाई खाना र खाजा खर्चबापत ३ सय रुपैयाँ दिन सकिने व्यवस्था गरिएको छ।
-सार्वजनिक बिदाको दिन काम गरेबापत खाना र खाजा खर्चका रुपमा ६ सय रुपैयाँ उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
-तर यातायात खर्चबापत भने कुनै रकम उपलब्ध हुने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।