काठमाडौं- राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले 'समृद्ध तराई-मधेस कार्यक्रम' बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट माथिको छलफलमा सहभागी हुँदै उनले अहिले पनि मधेसमा सञ्चालन भइरहेको 'समृद्ध तराई-मधेस कार्यक्रम' बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसँग जिज्ञासा राखेका हुन्।
उनले सिँचाइका लागि मधेसका गाउँ-गाउँमा पोखरी रहेको भन्दै ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत सम्भारमा ध्यान दिन सके सरकारले अघि सारेको सिँचाइ सुविधाको कार्यक्रम सफल हुने बताए।
पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका विषय बजेटमा आएपनि सम्पूर्ण क्षेत्रलाई समेट्ने काम नभएको भन्दै उनले गढीमाई, सिम्रौनगढ, जलेश्वर, परौलास्थान, धनुषा क्षेत्र तथा सिरहा सप्तरीका थुप्रै पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धनलाई समावेश गर्न आग्रह गरे।
नेता ठाकुरले सौर्य उर्जाको उपयोग गरेर प्रदेश २ लाई अन्धकार मुक्त राख्ने, भूमिगत सिँचाइ, हुलाकी सडकलगायत विषयलाई बजेटमा प्राथमिकता दिएकोमा अर्थमन्त्रीलाई धन्यवाद दिँदै बजेट कार्यान्वयनका लागि सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।