काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे सपथ ग्रहणमा सहभागी भएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिन अनिच्छुक देखिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद बढ्ने आँकलनले ओलीले पत्रकारसँग कुनै प्रतिक्रिया व्यक्त गर्न नचाहेको बुझिएको छ। गत वर्ष जेठ २ मा भएको सहमतिलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सतहमा ल्याएपछि नेकपाभित्र तरंग पैदा भएको छ।
सार्वजनिक भएको लिखित सहमतिको चौथो बुँदामा उल्लेख छ– ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने।’ त्यसै सहमतिको आधारमा प्रचण्डले आलोपालो प्रधानमन्त्री तथा एकल अध्यक्षको चाहना व्यक्त गरेका छन्।
यसअघिका भ्रमणबाट फर्किने समयमा प्रतिक्रिया दिने गरेका प्रधानमन्त्रीले यसपटक चुप बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पार्टी भित्रको विवाद थप छताछुल्ल हुने भएसँगै ओलीले पत्रकारसँग नबोलिकनै विमानस्थलबाट बाहिरिएका हुन्।
'प्राइम टाइम टेलिभिजन'मा पत्रकार ऋषि धमलासँगको अन्तर्वाताका क्रममा प्रचण्डको अभिव्यक्तिबारे ओलीले दिल्लीमा छोटो प्रतिक्रिया भने दिएका थिए। ‘आलोपालो सरकारको नेतृत्व गर्ने’बारे ओली दिल्लीमा पनि धेरै बोल्न चाहेनन्। कार्यकाल एक वर्ष मात्रै रहेको प्रसंग पत्रकारले सुनाउँदा उनले ४/५ दिन मात्रै रहेको ठट्यौली प्रतिक्रिया दिएका थिए।
नेकपाको पार्टी एकीकरण भएको एक वर्ष पुग्दा पनि एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन। पोलिटब्युरो गठन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड अझै हुन सकेको छैन।
उता सचिवालय सदस्य वामदेव गौतमले प्युठानमा शुक्रबार बोल्ने क्रममा नेतृत्वप्रति आक्रोश व्यक्त गरेका थिए। उनले पनि एकीकरणका बेला भएको सहमति पालना हुनुपर्नेमा जोड दिएका थिए।
मंसिरमा अन्तिम सुरु भएर पुसमा सकिएको स्थायी समितिको बैठकमा गौतमले दुई अध्यक्षको कार्य विभाजन फरक-फरक हुनुपर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री ओलीले अध्यक्षको पद छोडी प्रचण्डलाई एकल अध्यक्ष बनाउने आशयको उनको प्रस्ताव थियो। एकै व्यक्तिले दोहोरो पद धारण गर्दा पार्टी एकीकरणमा बिलम्व भएको गौतमको बुझाई छ।
यसैविच, शनिबारको लागि तय भएको सचिवालय बैठक सोमबारको लागि सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।