फाइल तस्बिर।
पोखरा- गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विनियोजन विधेयक प्रस्तुत गरेका छन्।
प्रदेश सरकारको आव २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा ‘प्रदेशसभा नियमावली,२०७४’ को नियम १३३ को उपनियम (२) बमोजिम विनियोजन विधेयक २०७६ को सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलका लागि उनले सो विधेयक संसदमा प्रस्तुत गरेका हुन्।
संविधानको मूलभूत सिद्धान्त, मर्म र भावनाअनुरुप सो विनियोजन विधेयक प्राथमिकताको आधारमा तयार गरिएको उल्लेख गर्दै मन्त्री गुरुङले यसका साथै नेपाल सरकारको १५औं पञ्चवर्षीय योजना, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, प्रदेश सरकारको दीर्घकालीन नीति मूलरुपमा आधार मानेर विधेयक तयार पारिएको जानकारी गराए।
प्रथम पञ्चवर्षीय योजना, मध्यकालीन खर्च संरचना, नेपाल सरकारद्वारा अन्तर्राष्ट्रिय सन्धि सम्झौंता र अन्तर्राष्ट्रिय समुदायसँग गरिएका सहमति र प्रतिवद्धता चालू आर्थिक वर्ष बजेट तथा कार्यक्रम कार्यान्वन अवस्था समेत मूलरुपमा आधार बनाइएको उनले प्रदेशसभा बैठकमा उल्लेख गरे।
संविधान प्रदत्त मौलिक हक, मानवअधिकार र कानूनी शासनको मूल्य र मान्यतामा आधारित लैङ्गिक समानता, समानुपातिक समावेशी सहभागिता र सामाजिक न्यायको माध्यमबाट लोककल्याणकारी राज्य व्यवस्था स्थापना गर्ने विनियोजन विधेयकमा उल्लेख गरिएको छ।
प्रदेशसभाको अर्को बैठक जेठ १९ गते आइतबार २ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।