काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको निर्देशन पालना नगर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री महासेठले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुको ठेक्का सम्झौता खारेज गर्ने प्रक्रियालाई अघि बढाइको पनि जानकारी दिए। शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुलाई सचेत गराउन ७ दिने, १५ दिने सूचना जारी गरिएको पनि स्मरण गराए।
मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्य ४ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गको निर्माण कार्य ४ वर्षभित्र सम्पन्न हुने गरी अघि बढाइएको मन्त्री महासेठको भनाइ छ।
मन्त्री महासेठलले मध्य पहाडी राजमार्गको १ सय ३३ वटा पुलमध्ये ७० वटाको निर्माण कार्य सम्पन्न गरिएको तथा हुलाकी राजमार्गको २ सय १९ वटा पुल मध्ये ८० वटाको निर्माण कार्य सम्पन्न गरिएको पनि समितिलाई जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।