काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा नेपाल आउने पर्यटकले गर्ने खर्च बढाउने आँकलन गरेको छ।
चालु आव २०७५/०७६ मा नेपाल आउने प्रतिपर्यटकको खर्च करिब ५४ डलर छ। आगामी वर्ष यो रकममा ८ डलर बढ्ने अनुमान सरकारको छ। ५४ डलरबाट बढेर ६२ डलर पुग्ने सरकारले अनुमान गरेको हो।
आगामी आवको बजेट प्रस्तुत गर्ने क्रममा सरकारले पर्यटक आगमनको संख्या पनि साढे ३ लाखले बढेर साढे १५ लाख पुग्ने अनुमान गरेको हो। चालु आवभरिमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १२ लाख पुग्ने र आगामी आवमा यो संख्या बढेर साढे १५ लाख पुग्ने सरकारको अनुमान छ।
यसैगरी पर्यटकको बसाइ पनि अहिले १२ दशमलव ४ दिन रहेकोमा आगामी वर्ष बढेर १३ दिन पुग्ने सरकारी आँकलन छ। कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) मा पनि चालु आवमा रहने ३ प्रतिशतको योगदान बढेर ३.५ पुग्ने सरकारको आकलन छ।
यसैगरी बाह्रै महिना सञ्चालन हुने विमानस्थलको संख्या पनि ३२ बाट बढेर ३४ पुर्याउने सरकारको लक्ष्य छ।
साथै विश्वका विभिन्न देशबाट नेपाल आउने विमान कम्पनीको संख्या पनि आगामी आवमा २८ बाट बढेर २९ मा पुग्ने सरकारको अनुमान छ।
यसैगरी पर्यटन क्षेत्रले आगामी आवमा ६१ हजार रोजगारी सिर्जना गराउने सरकारको लक्ष्य छ। चालु आवको अन्त्यसम्म पर्यटन क्षेत्रबाट ४५ हजारले रोजगारी पाउने सरकारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।