काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आयोगले अधिकृत अर्यालले १६ वर्षे सार्वजनिक सेवा अवधिमा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको स्रोत खुलाउन नसकेको भन्दै विशेष अदालतमा बिहिबार मुद्दा दायर गरेको हो।
अर्यालले वैधानिक आयभन्दा लगानी गरेको सम्पत्ति अत्यधिक रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अर्यालले वि.सं. २०५९ भदौ २३ मा सेवा प्रवेश गरेकोमा ०७६ मंसिर मसान्तसम्ममा उनको वैधानिक आय २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ देखिए पनि उनले ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ खर्च आर्जन गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।
अवैध रूपमा कमाएको पैसा उनले श्रीमती सरिता नेपाल समेतका नाममा जग्गा, घर, सवारी साधन खरिद गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, स्त्रीधन, अंश नगद र जग्गा बिक्रीबाट उक्त वैधानिक आय गरे पनि त्यसको तुलनामा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ बढी लगानी गैरकानुनी स्रोतवाट आर्जन गरेको आरोपपत्रमा उल्लेख छ । उनले यो रकम कहाँबाट आर्जन गरे भन्ने खुलाउन नसकेपछि अकुत सम्पत्ति मुद्दा दर्ता गरिएको हो।
अख्तियारले सोही रकम बराबर बिगो , जरिवाना र अधिकतम जेल सजाय हुनुपर्ने आरोपपत्रमा उल्लेख छ। अवैधानिक रुपमा आर्जन गरेका सम्पत्ति अर्यालले श्रीमती सरिता नेपालको नाममा राखेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएइको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।