काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याएका छन्।
प्रधानमन्त्री ओलीले सातवटै प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको समस्या तत्काल समाधानका लागि मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष भिडियो संवाद गर्ने व्यवस्थासहित सिंहदरबारस्थित आफ्नै कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच एक्सन रुम उद्घाटन गरेका हुन्। प्रदेश सरकारका समस्या र अवस्थाहरुको प्रत्यक्ष जानकारी लिई तत्काल समस्या समाधान गर्न सो एक्सन रुम सञ्चालनमा ल्याइएको प्रधानमन्त्री ओलीले जानकारी दिए।
प्रविधिको माध्यामबाट मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिन पनि सो एक्सन रुमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नै कार्यालयबाट प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष भिडियो वार्ता गर्दै आफ्ना प्रदेशको कर्मचारी र बजेटसम्बन्धि समस्या समाधान गर्न सो कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री ओलीले स्थापना गरेको एक्सन रुमले संघीयता कार्यान्वयनका लागि पनि सहज बनाउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका छन्।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताको अपेक्षा अनुसार प्रदेश र स्थानीय तहको कामलाई अघि बढाउन प्रधानमन्त्री ओलीले सञ्चालनमा ल्याएको एक्सन रुम उपयोगी हुने विश्वास व्यक्त गरे। कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको विकास गरेर मुलुकलाई नै समृद्ध बनाउने चाहना सो एक्सन रुमको सञ्चालनले साकार बनाउने बताए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशको समस्या समाधानका लागि संघीय सरकारसँग सहकार्य गर्न प्रधानमन्त्रीले सञ्चालनमा ल्याएको एक्सन रुम उपयोगी हुने विश्वास व्यक्त गरे।
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटो सम्पन्न गर्न अनुगमनको पनि अनुगमन गर्ने नीति अनुसार सो एक्सन रुम सञ्चालमा ल्याएको जनाएको छ। एक्सन रुमबाट सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष भिडियो कल गरी त्यहाँको समस्या समाधानका लागि प्रधानमन्त्री आफैले एक्सन लिन सक्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।