काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले करोडसम्मको भ्रष्टाचारमा कर्मचारीको हात भएपनि अर्बसम्म पुग्ने भ्रष्टाचारमा राष्ट्रिय सहमति हुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भुसालले जब भ्रष्टाचार अर्बमा पुग्छ त्यसमा अधिकांश राष्ट्रिय सहमति हुने बताए।
‘केही करोडको भ्रष्टाचार कर्मचारी आफैंले गर्छन होला। तर, जब अर्बमा पुग्छ त्यो भ्रष्टाचारमा दुःखपूर्वक भन्नुपर्छ अधिकांश केसमा राष्ट्रिय सहमति जस्तो देखिन्छ। माथिका मान्छे मिल्छन्।’
नेता भुसालले भने, ‘उनीहरूलाई नियम, कानुन, जनताको स्थिति, हाम्रो गतिविधि, हाम्रो हाल वा यहाँ हाम्रो राष्ट्रियता मिचिएको थिचिएको त्यहाँनेर उनीहरूलाई मतलब हुँदैन। ठूला ठूला काण्डहरू एनसेल, करछुट जस्ता काण्ड, वाइडबडी कै कुरा केहो? हराएर गयो।’
यस्ता मुद्दाहरूले लोकतन्त्रलाई कमजोर बनाउने र कमजोर लोकतन्त्रमा प्रेस स्वतन्त्रता कमजोर हुने नेता भुसालको तर्क छ।
यस्तै, उनले अहिले विवादित विधेयक कुनै असावधानी वा के कारणले आयो त्यसमा छलफल हुने बताए। नेता भुसालले प्रेसको स्वतन्त्रतालाई खोस्ने कुनै पनि कुरा नहुने स्पष्ट पार्दै ढुक्क हुन समेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।