राजविराज– ११औं गणतन्त्र दिवसको अवसरमा सप्तरी जिल्ला कारगारबाट ६ जना कैदी मुक्त भएका छन्।
असल चालचलन भएका र आधा कैद भुक्तान गरिसकेका ४ सय ३४ कैदीको सजाय मिनाह गर्ने सरकारको निर्णय अनुसार उनीहरू कारागार मुक्त भएका हुन्।
सप्तरी जिल्ला कारागारबाट जिल्लाको डाढाका ७५ वर्षीय देवलाल राम, भारतको विहार सुरसण्ड ८, सितामढीका ५० वर्षीय महेश ठाकुर, उदयपुर चौदण्डिगढीका ४४ वर्षीय वेदबहादुर चुहान, मोरङ धनपालका ३० वर्षीय महेशप्रसाद देवान, सुनसरी दुहवीका २८ वर्षीय रवि सिंह र इटहरीका २५ वर्षीय अमितकुमार विश्वकर्मा कैद मुक्त भएका छन्।
कर्तब्य ज्यान मुद्दाका रामले ९५ प्रतिशत सजाय भुक्तान गरिसकेको निमित्त कारागार प्रमुख सत्यनारायण यादवले जानकारी दिए। अन्य पाँचै जना सवारी ज्यान मुद्दामा कैद सजाय भोगिरहेका थिए।
जसमध्ये ठाकुरले ६१ प्रतिशत, चुहानले ६७ प्रतिशत, सिंहले ५५ प्रतिशत, देवानले ५३ प्रतिशत र विश्वकर्माले ७३ प्रतिशत कैद सजाय भोगिसकेको कारागारले जनाएको छ।
नेपालको संविधानको धारा २७६ अनुसार केही गम्भीर किसिमका अपराधमा संलग्नबाहेक ५० प्रतिशत कैद भुक्तान भएका र असल चालचलन भई कैद सजाय छोट्याउन योग्य कैदीलाई राष्ट्रिय उत्सव गणतन्त्र दिवसका दिन छाड्ने गरिएको छ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराधसंहिताअनुसार विभिन्न १५ किसिमका मुद्दामा भने ५० प्रतिशत कैद मिनाहाको व्यवस्था लागु हुँदैन।
७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने सोही अपराधसंहितामा संशोधन गरी आधा कैद भुक्तान गरेका कैदीलाई छाड्न सकिने प्रावधान ल्याएर कैदीलाई मुक्त गरिएको कानुन व्यवसायीहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।