काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ।
बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा टहरामा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा पानी पसेको प्रहरीले जनाएको छ।
बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा परेका छन्। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।
बाढीबाट भएको क्षतिको थप विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।