काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि गृह मन्त्रालयलले उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गरेको छ।
गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रमा उद्धार, राहत र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर परिचालन भइसकेको जानकारी दिएका हुन्। उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
गुरुङका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको छ भने नदीको बहाव निरन्तर बढिरहेको खबर प्राप्त भएको छ।
उनले घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार तथा राहतमा परिचालन गरिएको बताएका छन्।
बाढी प्रभावित क्षेत्रको अवस्था, मानवीय क्षति र भौतिक क्षतिको विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।