भैरहवा– मौसम खराबीका कारण बुधबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेका ५ वटा विमान आज बिहान निकै समयसम्म पनि काठमाडौं उड्न सकेनन्।
देशका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका विमानहरू काठमाडौंमा अवतरण हुन नसकेपछि गौतमबुद्ध विमानस्थलमा अवतरण गरिएको थियो।
बुधबार भैरहवा विमानस्थल झरेका यात्रुहरू राति १० बजेमात्र होटलमा पुगेका थिए। विमानस्थल र एयरलाइन्सको फितलो व्यवस्थापनका कारण होटलको बसाइ निकै कष्टकर भऐको यात्रुहरूको गुनासो छ।
राति १० बजे होटल पुगेका यात्रुहरू एउटा होटलमा बास बसे भने खाना खान अर्कै होटलमा जानुपरेको बताउँछन्।
यात्रुका अनुसार साँझको खाना राति साढे ११ बजे खानुपरेको थियो। खाना पनि निम्न गुणस्तरको खुवाइएको यात्रुहरूले गुनासो गरेका छन्।
बिहान ६ बजे नै होटलबाट एयरपोर्ट पुगेका यात्रुहरू बिहान साढे ९ बजेसम्म पनि विमानस्थलमै अलपत्र भई बस्नुपरेको सहभागी एक यात्रुले बताए।
काठमाडौंका लागि भैरहवा विमानस्थलबाट उडान भरेका २, भद्रपुर विमानस्थलबाट २ र जनकपुरबाट एउटा गरी कुल ५ वटा विमान भैरहवा विमानस्थलमा अवतरण गरेका थिए।
भैरहवाबाट बिहान ७ बजे उड्ने तयारीका साथ विमानस्थल पुर्याए पनि प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएपछि बिहान ९ बजेसम्मका लागि उडान अवतरण रोकिएका कारण विमान काठमाडौं पठाउन नसकिएको विमानस्थलले जनाएको छ।
विमानस्थल व्यवस्थापनले यात्रुको सहजताका लागि बेवास्ता गरेको यात्रुहरूको गुनासो छ।
विमानस्थल प्रमुख टेकराज पोखरेलले आफू बिहानैदेखि कार्यक्रममा भएकाले विमानस्थलको अवस्थाबारे कुनै जानकारी नभएको बताए।
काठमाडौंको त्रिभुवन विमानस्थलको धावनमार्ग सुधारका लागि बिहान ९ बजेसम्म उडान अवतरण रोकिएको भैरहवा विमानस्थल कार्यलयले जानकारी दिएको छ।
बिहान ९ बजेसम्मका लागि उडान रोकिएको बताए पनि साढे ९ बजेसम्म यात्रुहरू विमानभित्रै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।