काठमाडौं- कर नतिरेको भनेर विवादमा तानिएका नयाँ स्टार्ट अप कम्पनी टुटल र पठाओलाई करको दायरामा आउनका लागि सरकारले यसअघिका वर्षको कर छुट दिने भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमार्फत् यस्तो व्यवस्था गर्न लागेको घोषणा गरेको हो।
राइड सेयरिङ कम्पनी टुटल र पठाओलाई प्रत्यक्ष राहत हुने गरी स्टार्टअप कम्पनीलाई करमा राहत दिने व्यवस्था गरेको छ।
बजेटमा करको दायरामा नआएका कम्पनी करको दायरामा आए २०७५/७५ भन्दा अघिको सम्पूर्ण कारोबारमा लाग्ने कर तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ।
करको दायरमा नआएका स्टार्टअप संचालक ०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आएमा त्यस भन्दा अघिका सम्पूर्ण कारोबारमा लाग्ने कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिनाहा दिने व्यवस्था गरेका छन्।
राज्यलाई कर नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालय ललितपुरले गत महिना टुटललाई जरिवाना र ब्याजसमेत गरी ३ करोड ३९ लाख रुपैँया कर निर्धारण गरेको थियो। पठाओले पनि कर छली गरेको आशंकामा कर कार्यालयले छानबिन गरी कर र जरिवानासमेत ३० लाख रुपैयाँ निर्धारण गरेको थियो।
यी कम्पनीलाई राहत हुने गरी सरकारले यस्तो व्यवस्था गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।