राजविराज– सप्तरीमा लागुऔषध प्रयोगकर्ता वृद्धि र नियन्त्रणका प्रयास असफल हुँदै गएपछि प्रहरीले ‘लागुऔषध प्रयोगकर्तामा मनौवैज्ञानिक त्रास’ उत्पन्न गर्ने नयाँ रणनीति सुरु गरेको छ।
भारतीय सीमा नाकामा ‘ड्रग्स किट बक्स’ प्रयोग गरी नियन्त्रण, कारबाही र त्रास उत्पन्न गरी लागुऔषध प्रयोग न्यूनीकरण गर्न लागिएको हो। पहिलो चरणमा मुख्य आधा दर्जन नाकामा ‘किट बक्स’ राखेर कारबाही सुरु गरिने सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुरोधमा सप्तरी उद्योग वाणिज्य संघले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत ५० थान ड्रग्स किट बक्स र ५ थान ब्रेथलाइजर (मादक पदार्थ सेवन गरे/नगरेको चेक गर्ने) मेसिन उपलब्ध गराएको उनले बताए।
‘सप्तरीमा लागुऔषध र मदिरा सेवनको भयावह अवस्था देखेर हामीले यो नीति सुरु गरेका हौं,’ जिल्ला प्रहरी कार्यालयमा आयोजित किट बक्स हस्तान्तरण कार्यक्रममा उनले भने, ‘अब पनि यसलाई रोक्नेतर्फ सचेत नभए समाजमा आपराधिक घटना नियन्त्रण गर्न कठिन हुन्छ।’

लागुऔषध र मदिराको अनियन्त्रित प्रयोगले चोरी, लुटपात, बलात्कार, महिला हिंसा लगायतका घटना वृद्धि भएको उनले बताए। ‘झट्ट विश्वास गर्न सकिँदैन तर मुस्लिम कम्युनिटीका युवाहरुमा पनि लागुऔषधको प्रयोग बढेको छ,’ उनले थपे, ‘हामीले धेरै सोचविचार गरेर यो रणनीति सुरु गरेका हौं।’
सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले लागुऔषध र मदिरा सेवन तथा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरे। ‘सप्तरी जिल्ला अन्तर्गत पूर्वपश्चिम राजमार्गको ६० किलोमिटर दुरीमा भएका आधा दर्जनभन्दा बढी दुर्घनामा एकै दिन ७ जनासम्मको मृत्यु भएको छ,’ उनले भने, ‘घटना अनुसन्धान गर्दै जाँदा सबै घटना लागुऔषध र मदिरा सेवनका कारण भएको पाइयो।’
प्रहरीले सुरु गरेको नयाँ रणनीतिले लागुऔषध र मदिरा सेवनकर्तालाई मनोवैज्ञानिक रुपमा त्रास उत्पन्न गर्ने र कारबाहीमा परिने डरले ओसारपसार र प्रयोगमा समेत कमी आउने उनले विश्वास व्यक्त गरे।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपलब्धिमूलकः एसपी विष्ट
सप्तरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपलब्धिमुलक भएको प्रहरीले जनाएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म भएका गतिविधिहरु सार्वजनिक गर्दै एसपी विष्टले यस्तो जानकारी दिएका हुन्। स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिहरु प्रहरीलाई सहयोग गर्न तत्पर देखिएको र सहयोग प्राप्त भइरहेको उनको भनाइ छ।
वडा प्रहरी कार्यालय राजविराजको भवन निर्माणका लागि नगरपालिकावाट ६ कठ्ठा ३ धुर जग्गा र ३० लाख रुपैयाँ, इलाका प्रहरी कार्यालय हनुमाननगरको भवन निर्माणको लागि हनुमाननगर कंकालिनी नगरपालिकाले ४० लाख, राजविराज बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न नगरपालिकाद्वारा ३८ लाख र कठौना प्रहरी चौकीको भवन निर्माण गर्न शम्भुनाथ नगरपालिकाले ३० लाख सहयोग गरेको एसपी विष्टले बताए। जसमध्ये हनुमाननगरमा जेठ १६ गते भवन शिलन्यास हुने र कठौनाको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ।
यसैगरी ३८ लाख ६० हजारको लागतमा प्रहरी चौकी फत्तेपुरको भवन निर्माण भई उदघाटन भएको, तिरहुत गाउँपालिकाको १७ लाख सहयोगमा डिमन चौकीको भवन निर्माण भइरहेको, सुरुंगा नगरपालिकाले लक्ष्मीपुर प्रहरी चौकी निर्माणका लागि १५ लाख र प्रहरी चौकी धाँतीमा मेष तथा ब्यारेकको कोठा निर्माणका लागि ५ लाख विनियोजन गरेको, इलाका प्रहरी कार्यालय कञ्चनपुरमा नागरिक सहायता कक्ष निर्माणका लागि कञ्चनरुप नगरपालिकाले ७ लाख निकासा गरेको विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।