काठमाडौँ- सरकारले बजेट भाषण मार्फत् वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत रोजगारदाताबाटै व्यहोर्ने गरी गन्तव्य मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गर्ने बताएको छ।
स्थानीय तहसँगको सहकार्यमा अन्य कार्यक्रमसँग दोहोरो नपर्ने गरी आफ्नो गाउँ आफैं बनाऔं को भावना अनुरुप विकास निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको समेत बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले जनाएको छन्।
स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रमा बेरोजगार सूचीमा दर्ता भएका मुक्त कमैया, हलिया, हरवा, चरवा र कमलरी, सीमान्तकृत, लोपोन्मुख र विपन्न समुदाय, अपाङ्गता भएका र खाद्य असुरक्षा भएका क्षेत्रका बेरोजगारलाई लक्षित गरी रोजागारीका विशेष कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनकै लागि सरकारले ५ अर्ब १ करोड विनियोजन भएको छ। वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई बैंकिङ्ग प्रणाली मार्फत विप्रेषण आय पठाउन र उत्पादक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने बजेटमा उल्लेख छ।
बजेटमा श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।