काठमाडौँ- नेपाली कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आर्थिक वर्ष २०७६/७७ सालको बजेट यथार्थमा आधारित नभएको टिप्पणी गरेका छन्।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमाथि टिप्पणी गर्दै उनले अर्थमन्त्रीले जोखिम नमोल्ने हिसाबले सामान्य बजेट ल्याएको टिप्पणी गरे।
‘यो पाला सरकारका लागि अवसर थियो। तर, सजिलो सिरानीमा बस्ने खालको बजेट आयो,’ उनले भने ‘ यो भनेको के हो भने विप्रेषणको आम्दानीबाट उपभोगको माग सिर्जना हुने, त्यसबाट आयात बढ्ने र आयातबाट राजस्व बढ्ने र त्यसैबाट चालु खर्च चलाउने हिसाबले बजेट आएको छ।’
सरकारले पूँजीगत खर्चको लक्ष्य गत वर्ष भन्दा झण्डै दोब्बर राखेको भन्दै त्यो खर्च हुने आधार नदेखिएको उनले बताए । ‘अघिल्लो बर्ष २७० अर्ब पुँजीगत खर्च भयो,' उनले भने, 'चालु बर्षको अनुमान छ २७२ अर्ब र आगामी ४१० अर्ब खर्च गर्छु भनिएको छ यो सम्भव छैन।’
५० प्रतिशतले पुजिँगत खर्च बृद्धि गर्ने कुनै आधार नभएको उनले टिप्पणी गरे । खर्च धान्न राजश्व उठाउन सकिन्न, प्रष्ट छ भएकाले बजेट असफल हुन उनले टिप्पणी गरे।
अर्थमन्त्रीले वैदेशिक अनुदान र वैदेशिक ऋण निकै नै बढ्ने अनुमान गरे पनि त्यो सम्भव नदेखिने रिजालले टिप्पणी गरे।
‘आन्तरिक ऋणबाट झण्डै दुई सय अर्ब उठाउने भनिएको छ । दुई सय अर्ब आन्तरिक ऋण उठाउने भन्ने बित्तिकै त्यसले कर्जामा प्रेसर हुन्छ र बजारमा लिक्युडिटी क्राइसिस हुने छ,’ उनले भने ।
सरकारले आन्तरिक ऋणमार्फत तरलता खिचेपछि निजी क्षेत्रलाई कर्जा उपलब्ध नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।