काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।
‘विकासका लागि हाम्रो प्रस्थानबिन्दु सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा हो,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं। यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ। त्यसका लागि विभिन्न, पेसा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ।’
प्रधानमन्त्री ओलीले सन्देशमा यस दिवसले नेपालीहरूलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको उल्लेख गरेका छन्। ‘गणतन्त्र दिवसले गणतन्त्रको मर्यादा, गणतान्त्रिक संस्थाहरूको मर्यादा र गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न सिकाएको छ। गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास,समृद्धि,सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गरेका छन्।
‘हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध केन्द्रित छ। गरिवी र गणतन्त्र सँगसँगै रहन सक्दैनन्। त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।