काठमाडौं- खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ।
खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गरेकी हुन्।
२ रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं निस्कने गर्दछ। मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरु र काम विशेषले आउने जो कोही महिलाहरुले समेत उक्त प्याड प्रयोग गर्न सक्ने बताइएको छ।
मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ। मेसिनको शुरुवात गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरुमा राख्दै लगिने बताइन्।
‘यो त हामीले सुरुवात मात्र गरेका हौं। महिनावारी हुने समयमा महिलाहरुलाई समस्या पर्ने गर्दछ। अझ सार्वजनिक महिला शौचालयहरुमा यस्तो मेसिन राख्न पाइयो भने महिलाहरुलाई धेरै सहज हुने गर्छ। हामी विस्तारै अन्य ठाउँहरुमा राख्दै जानेछौ,’ उनले भनिन्।
मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ।
त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ वटा ठाउँहरुमा महिला तथा अपाङ मैत्री स्मार्ट शौचालय बनाउने तयारी समेत गरेको छ। यी स्मार्ट शौचालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत जडान गरिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिइन्।
महिलालाई गरिने विभेद घरबाटै अन्त्य गर्नुपर्छ : खानेपानी मन्त्री मगर
यसैबीच खानेपानी मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताएकी छन्।
छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुमाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान नै चलाउनुपर्ने बताएकी हुन्।
महिनावारी प्राकृतिक नियमित प्रक्रिया भएको बताउँदै उनले महिलाहरुमाथि गरिएको व्यवहार अपमानजनक रहेको र यसले महिलालाई चोट पुर्याउने गरेको बताइन्।
.jpg)


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।