जनकपुर- प्रदेश २ का सांसदहरुको आचरण र व्यवहार अनुगमन गरिने भएको छ। यसका निम्ति आचरण अनुगमन समिति बनाइएको छ।
मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यहरुको आचरण र व्यवहार अनुगमन गर्न सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको हो।
बैठकमा सभामुख यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। समितिको उप सभापतिमा उपसभामुख उपमा देव रहेका छन्।
प्रदेशसभा सदस्यहरु रामाशिष यादव, सुरिता साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाह, सावित्रीदेवी साह सो समितिमा सदस्य छन्।
प्रदेशसभा सचिवलाई समितिको सदस्य सचिवमा राखिएको छ। यो समितिले सांसदहरुको आचरण र व्यवहार अनुगमन गर्दै गल्ती गर्नेलाई कारबाहीसमेत गर्न सक्नेछ।
यसअघि प्रदेशसभाको गत शुक्रबारको बैठकमा सभामुख यादवले बैठकका समयमा मोबाइलको स्विच अफ राख्न सांसदहरुलाई रुलिङ गरेका थिए। सभामुख यादवले प्रदेशसभाको बैठकमा मोबाइलको स्वीच अफ गर्न भनेका थिए।
प्रदेशसभाको बैठक चलिरहेकै समयमा चर्को आवाजमा मोबाइलमा फोन आउने, बैठकमै मोबाइल चलाउने, फोनमा कुरा गर्ने र कुरा गर्दागर्दै बाहिर निस्किने क्रम बढेपछि सभामुख यादवले यस्तो रुलिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।