जनकपुर- जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्या घटनामा जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको छ। सिंहानियाको हत्या भएको झण्डै दश वर्षपछि मंगलबारदेखि जिल्ला अदालतको एक नम्बर इजलासमा सुनवाइ सुरु भएको हो।
सञ्चार उद्यमी सिंहानीयाको २०६६ फागुण १७ गते जनकपुरको शिवचोकमा गोली प्रहार गरी होलीको दिन हत्या भएकोे थियो। आफन्तको घरबाट होली खेलेर बाहिर निस्केका सिंहानियामाथि गोली प्रहार गरेर हत्या गरिएको थियो।
सिंहानिया हत्याका मुख्य योजनाकार पूर्वराज्यमन्त्री संजय साहलाई बनाइएको छ। नेपाल सरकारका अनुसन्धान अधिकारीद्वारा गरिएको अनुसन्धानबाट देखिएका अभियुक्तहरु मध्ये सिंहानीया हत्या घटनाका प्रमुख योजनाकारको रुपमा निलम्बित सांसद साह रहेको दाबी गरिएको छ।
घटनामा संलग्न भनिएका चनरदिप यादवले प्रहरीसमक्ष र सुटर भनिएका मनक लामाले अदालतमा साहको योजनामा घटना भएको बयान दिएका थिए।
घटनाका अभियुक्तहरु चनरदीप यादव, रामविनोद यादव, मनक लामा लगातयका व्यक्तिहरु पूर्पक्षका लागि कारागारमा छन्। थुनछेक बहसको क्रममा साहले भनेपछि आफूले सिंहानियामाथि गोली चलाएको लामाले अदालतमा बयान दिएका थिए।
यद्यपी साहले भने सिंहानिया हत्यामा आफ्नो कुनै सरोकार नरहेको र जबरजस्ती फसाउन खोजिएको भन्दै अदालतमा बयान दिएका थिए।
घटनाका प्रमुख योजनाकार भनिएका पूर्वराज्यमन्त्री साहलाई जनकपुर बमकाण्डमा समेत संलग्न रहेको भन्दै जिल्ला अदालत धनुषाले केही दिनअघिमात्र जन्मकैदको सजाय सुनाएको छ।
तत्कालीन सद्भावना पार्टीबाट निर्वाचित भएका साहको नाम जनकपुर बमकाण्डमा मुछिएपछि उनी काठमाडौंबाट भारत फरार भएका थिए। प्रहरीले उनलाई दिल्लीबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।