विराटनगर– विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको दबाबमा स्वास्थ्य निर्देशिकाविपरीत कर्मचारी नियुक्ति गरिएको खुलेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले १० जना कर्मचारी नियुक्ति गर्न भनी पठाएको पत्रलाई बेवास्ता गर्दै महानगरले २१ जना कर्मचारी नियुक्ति गरेको रहस्य बाहिरिएको हो।
प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले सहरी स्वास्थ्य प्रवर्द्धन कार्यक्रमका लागि कर्मचारी नियुक्ति गर्न बाटो खुल्ला गरेको थियो। सहरिया जनजीवनलाई स्वस्थकर बनाउन र सुलभ स्वास्थ्य पहुँच पुर्याउने उद्देश्ले खोलिएको केन्द्र विराटनगर महानगरपालिकाका लागि कर्मचारी भर्ती केन्द्रको रुपमा रुपान्तरण भएको छ।
स्वास्थ्य संस्था हस्तान्तरण निर्देशिकामा मेडिकल अफिसरसहित १० जना कर्मचारी राख्ने प्रावधान उल्लेख छ। र, सोही अनुसार मन्त्रालयले महानगरपालिकालाई पत्र पठाएको थियो। तर, मन्त्रालयको पत्रलाई बेवास्ता गर्दै महानगरका मेयर पराजुलीले आफूखुसी २१ जना कर्मचारी नियुक्ति गरेका हुन्।
सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि तोकिएको दरबन्दी (हेर्नुस् तालिकामा)

तीव्र विरोध भइरहे पनि मेयर पराजुलीले आफ्नो 'इन्ट्रेस्ट'मा कर्मचारी नियुक्ति गरेका महानगरपालिकाका एक कर्मचारीले बताए। उनले नियुक्त गरेकामा मेडिकल अफिसरको पद भने खाली छ। उपमेयर इन्दिरा कार्कीका अनुसार १४ जना नियुक्त गर्न पत्र पठाएको भन्दै मेयरले २१ जनाका लागि निर्णय गराएका हुन्।
मेयर पराजुलीले दरबन्दी बाहेकका पद सिर्जना गरी कर्मचारी नियुक्त गरेका छन्।
हेर्नुस् माग गरिएको सूची-
.JPG)
स्वास्थ्य सेवा विभाग अन्तर्गत प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा स्थापना हुने सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि भन्दै २०७४ साउन २९ को निर्णयानुसार ९८ लाख २५ हजार महानगरलाई पठाएको थियो।
हेर्नुस् पत्र-
.JPG)
१० जनाको लागि छुट्याइएको बजेट बाँडेर २१ जनालाई वितरण गरिँदै आएको छ। ५ महिनाका लागि २०७५ असार मसान्तसम्मका लागि करारमा नियुक्त गरे पनि कर्मचारी अझैसम्म केन्द्रमै छन्।
२१ जनामध्ये मेयर पराजुलीकी भान्जी रिजु पौडेल, महानगरका स्टोर शाखाका अधिकृत अशोक गुप्ताकी छोरी प्रतीक्षा गुप्ता र विराटनगरकै एक पत्रकारकी श्रीमती इन्दिरा पोखरेललाई पाँचौ तहको कर्मचारीमा नियुक्ति गरिएको छ। बिनाइजाजत नियुक्ति भएका कर्मचारी कामविहीन छन्।

माग भएका आठौं तहका डाक्टर नराखी मागबिनाका सातौं तहका दुई जना नर्सहरु पनि नियुक्त गरिएको छ। कर्मचारी नियुक्ति प्रक्रिया र त्यसको आर्थिक भारको विषयमा कुरा उठ्दा मेयरले दबाब दिने गरेको एक वडाध्यक्षले बताए।
यस विषयमा जानकारी लिन मेयर पराजुलीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
उपप्रमुख इन्दिरा कार्कीले भने केही गल्ती भएको र यसलाई सच्याएर अगाडि बढ्न महानगर तयार रहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आफू आउनुभन्दा पहिले नै यो निर्णय भएको हुनाले आफूलाई जानकारी नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।