काठमाडौं– भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ।
मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो।
नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए।
नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर खासातर्फ गएका छन्। सोमबार बेलुकी नै ४ वटा कन्टेनर ‘पास सिस्टम’सकेर तयारी हालतमा थिए।
बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्याइनेछ।
तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर कामलाई थालनी गरिएको सीमाका जनप्रतिनिधिले बताएका छन्। नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइने भएको छ।
त्यसैको लागि यहाँको संरचना रंगरोगन गरेर चिटिक्क पारिएको छ।
सुक्खा बन्दरगाहमै नेपाली रोक्ने चिनियाँ चाहना
चिनियाँ पक्षले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर नेपालतर्फ रहेको सुक्खा बन्दरगाहमै नेपालीहरूलाई राख्ने चाहना राखेको छ।
सरकारले यो सर्तमा सहमति जनाएकाले चीनले उक्त नाका खोलेको हो। नेपालीहरू खासा बजारसम्म पुग्ने र चीन विरोधी गतिविधि हुन सक्ने कुरालाई ध्यानमा राखेर चिनियाँ पक्षले यस्तो प्रस्ताव राखेको थियो।
यो प्रस्ताव कार्यान्वयन भएमा मात्र नेपालीहरूले खासा बजारको पहुँच पाउने छन्। सीमित प्रवेश पास भएका व्यक्तिलाई मात्र खासा बजार प्रवेश दिन र अन्यलाई सुक्खा बन्दरगाहबाट काम चलाउने चिनियाँ तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।