फाइल तस्बिर
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको 'विप्लव' समूहका गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढ्न नदिने गरी सो समूहले गरेको आतंककारी गतिविधि रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको पनि स्पष्ट पारेका छन्।
सोमबार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले मानव अधिकारको, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट पुर्याउने गरी भएका आतंककारी समूहको गतिविधि सरकारले रोक्ने पनि दाबी गरे।
प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको समूहको काम के हो? भनी प्रतिप्रश्नसमेत गरेका थिए। ‘नेपाललाई सुशासन र विकासको बाटोमा सहज ढंगले अघि बढ्न नदिने गम्भिर प्रयासहरु भईरहेका छन,’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘ कुन उद्देश्य, को संघको आक्रोशमा विरोध, चाहिएको के हो, मितिहरुको माग के हो?’
लोकतन्त्रको मुख्य अभ्यासको रुपमा रहेको चुनावमा जित्न नसक्ने भएपछि चन्द नेतृत्वको समूहले गैर कानुनी, अमानवीय, आतंककारी गतिविधि गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता गतिविधिलाई सरकारले नियन्त्रणमा लिनु परेको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले आफ्नो लोकतन्त्र र मानव अधिकारप्रतिको निष्ठा र प्रतिवद्धतामा शंका नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका थिए।
उनले मानव अधिकार र लोकतन्त्र नहुँदाको पीडा आफूले भोगेको स्मरण गराउँदै मानव अधिकारको प्रश्नमा खोट लगाउने कुनै पनि काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले मानव अधिकारको सम्पूर्ण प्रत्याभूतिका लागि आफूले आफ्नो वक्तव्य, नीति तथा कार्यक्रमहरुमा पनि अधिकारको समानता, अवसरको समानता, समान सुरक्षा र बराबरीको सम्मानलाई मूल आधार बनाएको दाबी गरेका थिए।
प्रधानमन्त्री ओलीले मानव अधिकारको प्रत्याभूति गराउने दिशामा आफ्ना गतिविधि केन्द्रित हुने पनि उल्लेख गरेका थिए।
प्रेस स्वतन्त्रताप्रति पनि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, 'तर संचारकर्मीहरुले कसैमाथि पनि गम्भीर आक्षेप लाग्ने गरी कलम चलाउन हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।