काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले आइतबारको बम विस्फोटमा परी मृत्यु हुनेहरु सामान्य नागरिक नभई विस्फोटनकारी भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिँदै मन्त्री थापाले सरकार शान्ति सुरक्षा दिन असफल रहेको तर्कसँग असहमति राख्दै यो सरकार देशमा शान्ति सुरक्षा कायम गर्न सबै भन्दा सफल रहेको दाबी गरे। यो सरकार गठन हुनुभन्दा पहिलेको अवस्थामा भन्दा अहिले धेरै सुधार भएको उनको भनाइ छ।
'सरकारले हिंसा रोपेको होइन र फलेको होइन,' उनले भने, 'सबैलाई संविधानको सीमाभित्र सरकारले ल्याउनेछ।'
‘हिजो विस्फोटनमा परेर मृत्यु भएका सामान्य नागरिक होइनन्, जनता होइनन्,’ उनले भने, ‘मृत्यु हुने घटना घटाउनेहरु हुन् भन्न खोजेका हुँ। यो घटनासँग सम्बन्धितकै निधन भएको छ।’
सुकेधार होस् वा घट्टेकुलोमा बम बनाउने क्रममै उनीहरुको मृत्यु भएको अहिलसम्मको अनुसन्धानमा देखिएको गृहमन्त्री थापाले दाबी गरे। अहिले पक्राउ परेकाहरुले पनि यसलाई पुष्टि गरेको उनले बताए।
‘यसरी प्रतिबन्धित र हिंसा गर्ने मानिस सामान्य जनता होइन्,’ उनले भने, ‘संविधान र कानुनविपरीत कार्य गरेर प्रतिबन्धित भएका हुन्।’
सरकारको साँठगाँठ त छैन भनेर सांसदले गरेको प्रश्न नै नाजायज भएको उनले बताए।
‘प्रश्नहरु उल्टाएर सोच्ने हो भने सोध्नेहरुको सम्बन्ध त छैन भन्न पनि सकिन्छ,’ उनले भने, ‘वार्ताबाट हल गर्ने सुरुदेखि नै हाम्रो सोच हो, उनीहरुको क्रियाकलापमा प्रतिबन्ध लगाएको हो।’ संविधान र कानुन मिच्ने अपराधको क्रियाकलाप गर्नेहरुलाई सरकारले प्रतिबन्ध लगाएको उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।