काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन्।
प्रमुख सचेतक खाँडले सरकारले संसदमा पेस गरेका प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने पनि स्पष्ट पारे।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैंले सडकमा जान बाध्य बनाएको दाबी पनि गरे।
प्रमुख सचेतक खाँडले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिन लागेको पनि जिकिर गरे।
प्रमुख सचेतक खाँडले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नुपरेको पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले वाइडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दाबी गरेर भ्रष्टाचारलाई प्रश्रय दिएको प्रमुख सचेतक खाँडको आरोप छ।
भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।