काठमाडौं- लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले दोस्रो पटक बहुमत हासिल गरेसँगै सबैका आँखा अब बन्ने नयाँ सरकारमा केन्द्रित भएको छ।
वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलाएन्स(एनडिए)को संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चुनिएसँगै उनी नै पुनः भारतको प्रधानमन्त्री हुने पक्कापक्की भएको छ।मोदीले सम्भवतः मे ३० मा प्रधानमन्त्रीको सपथ लिनेछन् र त्यही बेला मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि सपथ खुवाइनेछ।
मोदीको नेृत्वको मन्त्रिपरिषद्मा धेरै नयाँ अनुहार ल्याउने आसा गरिएको छ। पार्टी अध्यक्ष अमित शाहलाई पनि मोदीले आफ्नो मन्त्रीपरिषद्मा ल्याउने ठानिएको छ।
भाजपाका नेताहरुले अध्यक्ष शाह पनि मोदीको मन्त्रिपरिषद्मा सामेल हुने र उनलाई गृह, अर्थ, विदेश वा रक्षा मन्त्रालयमध्ये एक मन्त्रालयको कार्यभार दिइने आँकलन गरेका छन्।

वर्तमान अर्थमन्त्री अरुण जेट्ली र विदेश मन्त्री सुस्मा स्वराज स्वास्थ्य समस्यासँग लडिरहेका छन्। स्वास्थ्य समस्याकै कारण उनीहरु पुनः मन्त्री नबन्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यद्यपि उनीहरुले सकारमा सहभागी हुने या नहुनेबारे भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
वर्तमान रक्षामन्त्री निर्मला सितारमण नयाँ सरकारको मुख्य भूमिकामा दोहोरिने अपेक्षा गरिएको छ। त्यस्तै कांग्रेस अध्यक्ष राहुल गान्धीलाई अमेठीबाट पराजित गरेसँगै वर्तमान मन्त्री स्मृती इरानीलाई पनि महत्वपूर्ण जिम्मेवारी दिएर पुरस्कृत गरिने आसा गरिएको छ।
मोदीले वर्तमान मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरु राजनाथ सिंह, नीतिन गड्करी, रविशंकर प्रसाद, पियुस गोयल, नरेन्द्रसिंह टोमार, प्रकास जाभेदकरलगायतलाई आफ्नो मन्त्रिपरिषद्मा समेट्नुपर्नेछ।
एनडिए गठबन्धनमा आवद्ध शिव सेना र जेडियू (जसले क्रमशः १८ र १६ क्षेत्रमा जित हासिल गरेका छन्)लाई पनि मन्त्रिपरिषद्मा सामेल गर्नुपर्ने देखिन्छ।
त्यस्तै भाजपाले पहिलो पटक राम्रो नतिजा निकालेका राज्यहरु पश्चिम बंगाल, ओडिसा र तेलङ्गना क्षेत्रका विजयी उम्मेदवारबाट पनि मोदीको मन्त्रिपरिषद्मा नयाँ अनुहार सामेल हुनसक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।