जनकपुर– प्रदेश–२ धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सत्रुधन महतो निलम्बित भएका छन्। उनलाई नेकपाको संसदीय बोर्डले अनुशासनको कारबाही स्वरुप १५ दिनका लागि निलम्बन गरेको हो।
नेकपा संसदीय बोर्डले भरत साहलाई उम्मेदवार छनोट गरिसक्दा पनि सार्वजनिक लेखा समितिको संयोजक पदका लागि महतोले बागी उम्मेदवारी दर्ता गरेकाले उनी कारबाहीमा परेका हुन्।
'नेकपा संसदीय बोर्डको निर्णयविपरीत सार्वजनिक लेखा समितिको संयोजकमा बागी उहाँले उम्मेदवारी दिएर विद्रोह गर्नुभएको थियो। अनुशासनहीनताको कार्य गरेकाले १५ दिनसम्मका लागि उहाँलाई संसद पदबाट निलम्बन गरिएको छ,' नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले भने।
गत शुक्रबार १५ दिनका लागि सांसद पदबाट निलम्बन गर्नका लागि सभामुख सरोजकुमार यादवलाई नेकपाको संसदीय बोर्डको निर्णय जानकारी गराइएको संसदीय दलका नेता मण्डलले जानकारी दिए।
गत फागुनको पहिलो सातामा भएको संसदीय समिति सार्वजनिक लेखा समितिको लागि नेकपाको संसदीय बोर्डले सांसद भरत साहलाई आधिकारीक उम्मेदवार बनाएको थियो।
तर, सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल, राजपा नेपालका सांसद र कांग्रेसी सांसदहरूले उचालेपछि सांसद महतोले सोही पदमा बागी उम्मेदवार दिएका थिए।
एकै दलबाट उम्मेदवारी दर्ता गराएका सांसद महतो र सांसद साहको उम्मेदवारी रद्द भएपछि मतदान हुन सकेको थिएन।
मनोनयन पत्रमा समर्थकको रुपमा हस्ताक्षरमा आफ्नो फर्जी हस्ताक्षर गरिएको भन्दै नेकपाका सांसद रामकुमार यादवले संसद सचिवालयमा निवेदन दर्ता गराएका थिए।
त्यसपछि दुवै जनाको उम्मेदवारी रद्द भएको संसद सचिवालयले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।