काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आइतबार अष्ट्रिया जाँदैछन्।
उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजना हुने जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन्।
उनी कतार एयरवेजको विमानमार्फत् भोलि बिहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुनेछन्।
अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ने उनको निजी सचिवालयले जनाएको छ।
भ्रमणको क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेटसमेत गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।