काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको छ।
शनिबार भएको खेलमा प्रदेश ३ का लागि ज्ञानेन्द्र मल्लले शतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। जारी प्रतियोगिता यो पहिलो शतक हो। २ सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र जोड्न सक्यो।
ज्ञानेन्द्रले १ सय १७ रन जोडे। उनले १ सय ११ बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए। त्यसअघि प्रदेश ३ का कप्तान पारस खड्काले ४६ रनको योगदान दिए। उनले ४५ बलमा ४ चौका र २ छक्का हिर्काए। ओपनर रित गौतमले २७ र उनका ओपनिङ पार्टनर जितेन्द्रसिंह ठकुरीले १२ रन बटुले।सोनु देवकोटा १५ रनमा रनआउट हुँदा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
बलिङमा एपिएफका कमलसिंह ऐरीले ३ विके६ लिए। उनले १० ओभरमा ६४ रन दिए। अभिनास बोहराले २ विकेट लिए भने भुवन कार्की र कप्तान पृथु बाँस्कोटाको नाममा १-१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ५० ओभर पूरा खेल्दै ९ विकेटको क्षतिमा २८८ रन जोड्न सफल भयो।

एपिएफका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले।
सुमितले सर्वाधिक ९४ रनको योगदान दिए भने पृथुले ५९ रन बनाए। १०३ बल खेलेका सुमितले ६ छक्का र ५ चौका प्रहार गरेका थिए।
त्यस्तै ५८ बल खेलेको पृथुले १ छक्कासहित ३ चौका प्रहार गरे।
त्यसैगरी एपिएफका प्रदीप ऐरीले ४०, अमरसिह रौतेलाले २७, भुवन कार्कीले १५, शरद भेषवाकरले १२ तथा आशिफ शेखले सात रन जोडे।
बलिङतर्फ प्रदेश ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले समान तीन/तीन विकेट लिए भने पारस खड्का र सुर्य तामाङले समान एक/एक विकेट लिए।
विभिन्न १० टोली सहभागी उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।