काठमाडौँ- धरान उपमहानगरपालिकाले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ।
प्रतिभाशाली २१ वर्षीय युवा गल्फर शुक्रबहादुर राईलाई धरान वर्ष खेलाडी २०७५ को रुपमासमेत उपमहानगरपालिकाले पुरस्कृत गरेको छ। युवा गल्फर शुक्रले नगद रु एक लाखसँगै सम्मानपत्र र ट्रफी प्राप्त गरे।
यस्तै उत्कृष्ट खेलाडी सम्मानबाट टेबलटेनिसकी अन्तर्राष्ट्रिय खेलाडी गीता थापामगर सम्मानित भएकी छन्।
खेलाडी गीताले नगद रु ५० हजार, ट्रफी र सम्मानपत्र प्राप्त गरिन्।
दुवैलाई धरान उपमहानगरपालिकाअन्तर्गतको नगर खेलकूद विकास समितिले शुक्रबार धरान वर्ष खेलाडी घोषणा गर्दै पुरस्कार एवं सम्मान प्रदान गरेको हो।
धरानका खेलाडीले २०७५ सालभरि आफ्नो खेल विधामा नगर, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शन र उपलब्धिको आधारमा वर्ष खेलाडी पुरस्कार दिइएको उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन्।
टेबलटेनिसका अन्तर्राष्ट्रिय खेलाडी थापालाई सम्मानपत्र प्रदान गर्दै धरानकी कार्यवाहक प्रमुख भण्डारीले आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रशिक्षक पदमा नियुक्ति दिएको जानकारी गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।