काठमाडौं– अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई करोडौँ ठगी गर्ने परशुराम गुरुङलाई आज नेपाल ल्याइँदै छ। केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले दिएको जानकारी अनुसार गुरुङलाई आज थाइल्यान्डबाट काठमाडौंमा ल्याउन लागिएको हो।
गुरुङ २०७५ चैतमा थाइल्याण्डको बैंककमा पक्राउ परेका थिए।
गुरुङ ठगीमा संलग्न रहेको भन्ने उजुरीका आधारमा २०७१ देखि नै प्रहरीको खोजी सूचीमा थिए।
नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले २०७२ असार २९ मा गुरुङविरुद्ध 'डिफ्युजन नोटिस' जारी गरेको थियो। लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्याण्ड प्रहरीले गुरुङलाई २०७५ चैतमा पक्राउ गरेको थियो।
थाइल्याण्ड बस्दै आएका उनले 'फेसबुक'मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विकसित मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्दै आएका थिए।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसारपसारमा संलग्न गुरुङ अहिलेसम्मकै 'खतरनाक गिरोहका नाइके' भएको प्रहरीले जनाएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका डिएसपी राजकुमार सिलवालका अनुसार गुरुङविरुद्ध ५२ ओटा मानव ओसारपसारसम्बन्धी उजुरी परेका छन्।
गुरुङविरुद्ध परेका ५२ ओटा उजुरीमा ५ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै पीडितहरुले विगो बराबरको रकम माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।