जनकपुर- उच्च अदालत जनकपुरले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि रत्नसागर मठका महन्त बैकुण्ठ दास वैष्णव फरार भएका छन्।
जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्न दिएको आदेश उल्टाउँदै बिहीबार उच्च अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश सुनाएको हो। ऊच्च अदालतका न्यायधीश विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको संयुक्त इजलासले सरकारी कागज कीर्ते तथा ठगी मुद्दा सुनुवाइका त्रममा महन्त दासको हकमा उक्त आदेश सुनाएको थियो।
उच्च अदालतले अर्का आरोपी रत्नसागर मठका पुजारीको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ। जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले गत पुसमा बैकुण्ठ दास वैष्णवलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने तथा सोही मठका पुजारी अशोक शर्मालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सुनाएका थिए।
उच्च अदालतको आदेश सार्वजनिक भएलगत्तै महन्त बैकुण्ठ दास सम्पर्कविहीन बनेका छन्। जिल्ला अदालतको आदेशविरुद्ध वादी जनक हजारी विद्यापीठ तथा आरोपीद्वय बैकुण्ठ दास र पुजारी विनोद शर्माले उच्च अदालत जनकपुरमा ‘१७ नम्बर’ गरेका थिए।
वादीपक्षको तर्फबाट कानुन व्यवसायी विपिनकुमार झा र देवेन्द्र ठाकुर निराला तथा प्रतिवादी महन्त दासका तर्फबाट श्यामकुमार मिश्र, चन्द्रबहादुर मैनाली, मंसूर राइन, अचुतम आचार्य, प्रकाश घिमिरे तथा राजन दाहाल सहितले बहस गरेका थिए।
जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीमा नेपाल सरकारको तर्फबाट जिल्ला अदालत धनुषामा दायर अभियोग पत्रमा प्रतिवादी महन्त बैकुण्ठ दास र पुजारी अशोक शर्मासँग १६ करोड ९१ लाख २५ हजार रुपैयाँ बिगो तथा जेल सजायको माग दाबी गरिएको थियो।
नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको २०५० देखि नै भोगचलनमा रहेको जनकपुर-८ स्थित कित्ता नम्बर ६२ को २ कट्ठा ११ धुर तथा कित्ता नम्बर १, २, २८ तथा ४९ को २ बिघा ८ कट्ठा १४ धुर जग्गा कीर्ते लालपुर्जा बनाई बिक्रीवितरण गर्न खोजेको दुवैमाथि आरोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।