काठमाडौं। लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ।
यससँगै मेसीको यस सिजनको लिग गोल संख्या २३ पुगेको छ। उनी लिगका सर्वाधिक गोलकर्ता बनेका छन्। इन्टर मियामीका लागि लुइस सुआरेजले पनि दुई गोल गरे। जर्मान बेरटेरामेले दुई गोलका लागि सहयोग गरे।
जितसँगै मियामीले लगातार पाँच खेलको जितविहीन यात्रा टुंग्याएको छ। यसअघि उसले चार खेल बराबरी खेलेको थियो भने एक खेलमा पराजय बेहोरेको थियो। अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट २१ वर्षे यात्रा टुंग्याउँदै विदाइ खेल खेलेको चार दिनपछि मैदानमा उत्रिएका मेसीले डीसी युनाइटेडविरुद्ध पूरा ९० मिनेट खेले।
मियामीले यसअघि अगस्ट २९ मा सीएफ मोन्ट्रियललाई ७–१ ले हराएयता लिगमा जित निकाल्न सकेको थिएन। सेप्टेम्बर १६ मा टोलीको जिम्मेवारी सम्हालेका नयाँ प्रशिक्षक क्रिस्टियन ‘किली’ गोन्जालेजका लागि पनि यो पहिलो लिग जित हो। डीसी युनाइटेड भने पछिल्ला पाँच खेलमा जितविहीन छ।
पहिलो हाफमै सुआरेजका दुई गोल
खेल सुरु भएको तेस्रो मिनेटमै सुआरेजले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। बेरटेरामेको हेडरबाट आएको बल नियन्त्रणमा लिँदै उनले गोलरक्षक सन जोन्सनलाई छक्याएर बायाँ पोस्टभित्र बल पठाए।
सुआरेजले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। मेसीको नजिकबाट गरिएको प्रहार गोलरक्षक जोन्सनले रोकेपछि बल बेरटेरामेको नियन्त्रणमा पुगेको थियो। बेरटेरामेको हेडर सुआरेजसम्म पुगेपछि उनले ६ यार्ड क्षेत्रभित्रबाट बललाई जाली चुमाए। पहिलो हाफ सकिँदा मियामी २–० ले अघि थियो।
मेसीले ४७औं मिनेटमा गोल गर्दै मियामीको अग्रता ३–० बनाए। सुवारेजले ६ यार्ड क्षेत्रनजिक उपलब्ध गराएको पासलाई मेसीले दायाँ पोस्टको भित्रतर्फ प्रहार गर्दै गोलमा परिणत गरे।
६०औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल थपे। रोड्रिगो डे पाउलको पास पाएपछि उनले पेनाल्टी क्षेत्रभित्र बल अघि बढाउँदै डीसी युनाइटेडका दुई डिफेन्डरलाई छलाए। त्यसपछि करिब १२ यार्ड दूरीबाट गरेको प्रहार गोलरक्षक जोन्सनलाई पार गर्दै गोलमा परिणत भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।