काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।
भारत भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डललाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले दुई देशबीचको सम्बन्ध थप सुमधुर र मजबुत हुने अपेक्षा गरेको बताए ।
उनले सरकार र पार्टीको तर्फबाट प्रधानमन्त्री शाहलाई बिदाइ गरिएको जानकारी दिँदै दुईदिने औपचारिक राजकीय भ्रमणले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
‘दुईदिने औपचारिक राजकीय भ्रमण असाध्यै उपलब्धिमूलक हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। खास गरेर राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुई देशबीचको सरकार–सरकारबीचको, पार्टी–पार्टीबीचको र जनता–जनताबीचको समग्र सम्बन्ध अझै उचाइमा पुग्नेछ, अझै सुमधुर हुनेछ, बलियो हुनेछ, मजबुत हुनेछ भन्ने कुराहरूमा हामीले विश्वास लिएका छौँ,’ उनले भने ।
खरेलले भ्रमणका क्रममा हुने भेटघाट र समझदारीहरू नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई देशबीचको सम्बन्ध मजबुत बनाउने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति, समकक्षी प्रधानमन्त्री, विदेशमन्त्रीलगायतसँग भेटघाट गर्ने तथा निजी क्षेत्रसँग पनि छलफल गर्ने कार्यक्रम रहेको उनले बताए ।
‘समझदारीको तयारी पनि जुन रूपमा गरिएको छ, ती समझदारीहरू पनि सबैभन्दा पहिला नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई देशबीचको सम्बन्ध मजबुत बनाउने दिशामा हुन्छन् भन्ने कुराहरूमा हामीले विश्वास लिएका छौँ,’ खरेलले भने ।
प्रधानमन्त्री शाहले भारत भ्रमणको तयारीबारे पार्टी सभापति रवि लामिछानेसँग पनि छलफल गरेको उनले जानकारी दिए । लामिछानेले दुई देशबीचको सम्बन्ध थप राम्रो र मजबुत बनाउन तथा भ्रमण उपलब्धिपूर्ण बनाउन सुझाव दिएको खरेलले बताए ।
उनले प्रधानमन्त्रीले सरकारका मन्त्रालय, कूटनीतिक निकाय तथा पार्टीसँग सम्बन्धित विभिन्न निकायसँग आवश्यक परामर्श गरेर भ्रमण अघि बढाएको उल्लेख गरे ।
प्रधानमन्त्री शाहसहित ३५ सदस्यीय प्रतिनिधिमण्डल भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेको हो । प्रधानमन्त्रीलाई बिदाइ गर्न ऊर्जा मन्त्री तथा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र पार्टीको तर्फबाट प्रवक्ता जगदीश खरेल विमानस्थल पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।