काठमाडौं। बूढीगण्डकी नदीमा पानीको सतह खतरा तहभन्दा माथि रहेर घटबढ भइरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखेको छ।
महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमअनुसार सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। महाशाखाले बिहान ९:२५ बजे जारी गरेको सूचनाअनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्र अति उच्च जोखिममा छ। उक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च स्थानमा जान भनिएको छ।
त्यस्तै, मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राख्दै उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।
चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रलाई मध्यम जोखिममा राखिएको छ। ती क्षेत्रका बासिन्दालाई सतर्क रहन र बाढीसम्बन्धी थप जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।
बाढीसम्बन्धी पछिल्लो जानकारी नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गरेर लिन सकिने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।