काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई चुनावको पूर्ण परिणाम आउनु अगावै जितको शुभकामना दिएका छन्।
भारतीय लोकसभा निर्वाचनको अहिले मतगणना भइरहेको छ। ५ सय ४२ लाेकसभा सिटमा सत्तारुढ भारतीय जनता पार्टीले २ सय ९६ सिटमा अग्रता लिएको भारतीय चुनाव आयोगले जनाएको छ। आयोगका अनुसार प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसले मात्र ५१ स्थानमा अग्रता हासिल गरेको छ।
आयोगले अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रको मतगणना नसकिएको र कसैले पनि स्पष्ट जित हान नपारेको जनाएको छ।
कूल ५ सय ४३ मध्ये चुनाव भएका ५ सय ४२ लाेकसभा सिटमा को विजयी हुने भन्ने आधिकारिक निर्णय नआउँदै प्रधानमन्त्री ओलीले भने मोदीलाई शुभकामना दिएका हुन्। बिहीबार दिउँसो १२ः३८ मा ट्विट गर्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक जितका लागि माेदीलाई बधाई दिए।

साे बधाई सन्देशमा उनले आगामी दिनमा सफलताको शुभकामना समेत दिएका छन्। 'आगामी दिनमा तपाईंसँग निकै नजिकमा रहेर काम गर्नेछुु।,' सन्देशमा भनिएको छ।
विश्वकै सबैभन्दा ठूलाे मानिने भारतीय लोकसभा निर्वाचन कूल ७ चरणमा गरिएको थियो। ५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको हो।
निर्वाचनमा बहुमत प्राप्त गर्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ सिटमा जित हात पार्नुपर्छ।
सन् २०१४ मा भाजपाले २ सय ८२ सिट जितेको थियो। साे समयमा भारतीय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।