नयाँ दिल्ली- भारतीय लाेकसभा निर्वाचनको मतगणना अहिले चलिरहेको छ। ३९ दिनसम्म चलेको मतदानपछि आज मतगणना भइरहेको हो। मतगणनापश्चात् आगामी ५ वर्षमा भारतमा को शक्तिमा आउने छ भन्ने टुंगो लाग्नेछ।
बिहान ८ बजेबाट सबै राज्यमा भइरहेको मतगणनामा सुरुवाती डेढ घण्टाको अवधिमा सत्तारुढ भारतीय जनता पार्टीले अग्रता हासिल गरेको छ। भारतीय चुनाव आयोगले ४ सय ०५ सिटको पछिल्लाे अवस्थाको बारेमा जानकारी दिएको छ। जसमा भाजपा २ सय २९ स्थानमा अग्रस्थानमा छ। भाजपालाई भारतीय कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले कूल ५६ स्थानमा आफूलाई अग्रस्थानमा उभ्याएको छ।
उत्तर प्रदेशको वाराणसीबाट चुनावी मैदानमा उत्रिएका प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवाती अग्रता हासिल गरेका छन्। उता उत्तर प्रदेशकै रायबरेलीमा कांग्रेस पूर्व अध्यक्ष साेनिया गान्धी तथा केरलाको वायनाडबाट उम्मेदवार बनेका कांग्रेस अध्यक्ष राहुल गान्धीले समेत सुरुवाती अग्रता हासिल गरेका छन्।
विश्वकै सबैभन्दा ठूलाे मानिने भारतीय लोकसभा निर्वाचन कूल ७ चरणमा गरिएको थियो। ५ सय ४२ सिटका लागि भएको भारतको निर्वाचनमा ९० करोड योग्य मतदाता थिए। यो सङ्ख्या विश्वको कुनैपनि निर्वाचनमध्ये सबैभन्दा धेरै हो। झन्डै ८ हजार उम्मेदवार तथा ६ सय ७० राजनीतिक दल चुनावमा सहभागी भएका थिए।
१० लाख मतदान केन्द्रमा ३९ दिन लगाएर सम्पन्न निर्वाचनमा अघिल्लो चुनावयता ८ करोड ३० लाख नयाँ मतदाता थपिएका थिए। १८-१९ वर्षका मतदान गर्न योग्य मतदाता मात्रै डेढ करोडको संख्यामा थिए।
निर्वाचनमा बहुमत प्राप्त गर्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ सिटमा जित हात पार्नुपर्छ। सन् २०१४ मा भाजपाले २ सय ८२ सिट जितेको थियो। साे समयमा भारतीय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो।
यो पनि:
मोदी शासन रहला या नरहला?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।