काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्।
उनले ब्लगको सम्पादकीय नेतृत्व सुशील कार्कीलाई सुम्पिँदै आफू जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। श्रेष्ठले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै माइसंसार बन्द हुन नलागेको, बरु नयाँ सम्पादकीय नेतृत्वमा यात्रा अघि बढ्ने स्पष्ट पारेका छन्। प्रेस काउन्सिलको जिम्मेवारीमा रहुन्जेल माइसंसारको सम्पादकीय भूमिकाबाट पूर्ण रूपमा अलग रहने उनको भनाइ छ।
उनका अनुसार माइसंसारका धेरै सामग्री सञ्चारमाध्यमका समाचार, पत्रकारिताका कमजोरी र सञ्चार क्षेत्रका प्रवृत्तिमाथिको टिप्पणीसँग सम्बन्धित हुन्थे। अहिले आफू सञ्चारमाध्यमको नियामक निकायको नेतृत्वमा रहेकाले एउटै समयमा नियामकको जिम्मेवारी निर्वाह गर्ने र ब्लगमार्फत सञ्चारमाध्यममाथि टिप्पणी गर्नु उचित नहुने निष्कर्षमा पुगेको उनले बताएका छन्।
श्रेष्ठले यस विषयमा लेखेका छन्,‘म माइसंसारबाट अलग भएको हुँ, माइसंसारप्रतिको मेरो माया अलग भएको होइन।’
उनले सम्पादकीय जिम्मेवारीबाट अलग हुने निर्णय भावनात्मक रूपमा सहज नभए पनि ब्लगको स्वतन्त्रता कायम राख्न यस्तो कदम चालेको उल्लेख गरेका छन्। अब माइसंसारमा के लेख्ने, के प्रकाशित गर्ने र के नगर्ने भन्ने निर्णय नयाँ सम्पादकले स्वतन्त्र रूपमा गर्ने उनले बताएका छन्।
श्रेष्ठले माइसंसारको नयाँ सम्पादकीय जिम्मेवारी सुशील कार्कीलाई सुम्पिएका छन्। कार्की माइसंसारका पुराना पाठकका लागि परिचित नाम भएको उल्लेख गर्दै उनले सुरुआती दिनमा ‘सुबिक कार्की’ र कहिलेकाहीँ ‘भक्तपुरे’ नामबाट ब्लग लेख्ने गरेको बताएका छन्।
कार्कीले सामाजिक, कानुनी र सार्वजनिक सरोकारका विषयमा लेख्दै आएका छन्। उनका लेख विभिन्न अनलाइन तथा छापा सञ्चारमाध्यममा प्रकाशित भएका छन्। अधिवक्ताका रूपमा सार्वजनिक सरोकारका मुद्दामा वकालत गरेका उनीसँग संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायमा आबद्ध भएर नेपालसहित अफ्रिका, युरोप र मध्यपूर्वका विभिन्न मुलुकमा काम गरेको अनुभव रहेको श्रेष्ठले उल्लेख गरेका छन्।
नयाँ सम्पादकले आफ्नो विचारसँग असहमति जनाउन र आवश्यक परे आफ्नै आलोचना गर्न पनि स्वतन्त्र हुने श्रेष्ठको भनाइ छ। माइसंसार कुनै व्यक्ति वा संस्थाको प्रशंसा गर्ने मञ्च नभई प्रश्न गर्ने, तथ्य खोज्ने र फरक विचारलाई स्थान दिने स्वतन्त्र थलोका रूपमा रहनुपर्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।