काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ।
छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति निकाल्दै सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक श्रव्य सामग्री र उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
‘खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएका आरोपहरू गम्भीर र संवेदनशील छन्। यस विषयमा सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई आन्तरिक छानबिन गर्न निर्देशन दिइसकिएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म उहाँलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ। राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा पार्टीको पूर्ण सहयोग रहनेछ। कानुन उल्लङ्घन गर्ने कसैलाई पनि राजनीतिक संरक्षण दिइने छैन,’ उनले भनेका छन्।
एक महिला पूर्वसांसदलाई लक्षित गरी सुनारले आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको अडियो सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको थियो। समाचारमा उक्त अडियो सुनारको भएको जिकिर गरिएको छ। केही वर्षअघि रेकर्ड गरिएको बताइएको यो अडियो सोमबार सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ।
अडियोमा उनले प्रयोग गरेका शब्दहरूले अमर्यादित भाषाको छ। सीमा नाघेको। यससँगै उनको चौतर्फी आलोचना भइरहेको छ। घटना सार्वजनिक भएसँगै सांसद सुनारले पदबाट राजीनामा दिनुपर्ने र उनीमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने आवाज समेत उठेको छ। विवादमा तानिएपछि सांसद सुनारले आफ्नो फोन ‘स्वीच अफ’ गरेका छन्।
आचार्यले विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप गम्भीर र संवेदनशील रहेको स्वीकार गरेका छन्। यी विषय सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएको पार्टीले उल्लेख गरेको छ।
रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन टुंगो नलागेसम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको पार्टीको भनाइ छ।
पार्टीले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।