डडेलधुरा- बैतडी जिल्लाको पुर्चौंडीमा बुधबार राति एक घरमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ।
पुर्चौंडी नगरपालिका-७ स्थित बसपार्कमा रहेको टहरामा सुतिरहेको समयमा आगलागी हुँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरीले जानकारी दिए।
मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार छन्।
बुधबार राति करिब पौने १० बजेतिर टहरामा आगो लागेको र समयमै जानकारी नहुँदा उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक गिरीले बताए।
बेलुकाको खाना खाएर सुतेका बेला चुल्होमा रहेको आगोबाट टहरामा आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। स्थानीय स्तरमा मजदूरीसँगै मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार ७ वर्षदेखि सोही टहरामा बस्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याइने गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।