काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले पाँचथर घटनाबारे राष्ट्रियसभामा जानकारी गराएका छन्। सो घटनामा २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। अर्का एक व्यक्ति झुन्डिएको अवस्थामा भेटिएका थिए।
बुधबार संसदमा सम्बोधन गर्दै उनले घटनाको अनुसन्धान कार्य सुरु भएको र घटना गराउने व्यक्तिको खोजतलास र अनुसन्धान जारी रहेको बताएका हुन्। 'नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरी कार्यालय प्रदेश १ बाट वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी खटिई अनुसन्धान कार्य सुरु गरिएको छ', गृहमन्त्री थापाले भने।
सामूहिक हत्या भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनास्थलको सुरक्षाका लागि काबुमा लिइएको उनले बताए। 'शान्ति सुरक्षाको अवस्था सामान्य बनाइराख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा टोली तैनाथ गरिएको छ,' गृहमन्त्री थापाले जानकारी दिए।
घटनास्थलको प्रकृति, मुचुल्का र लास जाँच लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतक १० जनाको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि उनले बताए।
'घटनाको क्रममा ज्यान जोगाउन सफल भएकी सीता फुजुङको दमकस्थित अस्पतालमा उपचार भइरहेको छ। निजको उपचारको आवश्यक व्यवस्था पनि मिलाइएको छ', उनले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।