जनकपुर- जनकपुरमा ६ वर्षदेखि तलब नपाएको गुनासो गर्दै एक कर्मचारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा जिल्ला अदालत धनुषामा निवेदन दर्ता गराएका छन्।
जनकपुरको गंगासार पोखरीको डिलमा रहेको सार्वजनिक पुस्तकालयमा सहयोगीका रूपमा कार्यरत देवशरण साहले विगत ६ वर्षदेखि तलब नपाएको गुनासो गरेका हुन्। शाहले २०७० देखि पुस्तकालयको रेखदेख गर्दै आएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१८ बस्ने देवशरण साहले उपमहानगरपालिकाले तलब नदिएको गुनासो गरे।
शाहका अनुसार तत्कालीन जनकपुरधाम नगरपालिकाका कार्यकारी प्रमुख जगरनाथ लामिछानेले उनलाई पुस्तकालय रेखदेखको जिम्मेवारी दिएका थिए। ‘पहिलो महिनामा राम्रो काम गरेको भन्दै उपमहानगरपालिकाले २ हजार पुरस्कार पनि प्रदान गरेको थियो। तलब दिने आश्वासन पटक–पटक दिएको छ, तर अहिलेसम्म पाएको छैन,’ उनले भने।
शाहले ६ वर्षदेखि उपमहानगरले उपलब्ध नगराएको तलब रकम दिलाइदिन माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तथा जिल्ला अदालत धनुषामा निवेदन दर्ता गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।