डेडिकेटेड फिडरको महसुल बक्यौता नउठ्नुमा कुलमानमाथि सांसदको शंका

सांसद भन्दैमा जे पनि भन्न पाइँदैन : कुलमान
नेपाल लाइभ | २०७६ जेठ ७ मंगलबार | Tuesday, May 21, 2019 १४:२२:०० मा प्रकाशित

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिका अधिकांश सांसदहरुले डेडिकेटेड फिडर प्रयोग गरेर पनि उद्योगी व्यवसायीहरुले विद्युत महसुल बक्यौता नतिर्नुमा नेपाल विद्युत प्राधिकरण आफैं जिम्मेवार रहेको धारणा राखेका छन्।
९ अर्ब १० करोड रुपैयाँ बराबर उठ्न बाँकी रहेको विद्युत महसुल बक्यौता उठाउन पछिल्लो समय प्राधिकरण आफैंले पहल गरेपनि गएको तीन वर्षसम्म किन चुप लागेर बसेको बन्दै सांसदहरुले प्राधिकरणलाई प्रश्न गरेका हुन्।

डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुलमा व्यवसायी र प्राधिकरणबीच देखिँदै आएको विवादका विषयमा बुझ्न संघीय संसदको सार्वजनिक लेखा समितिले उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलगायत कर्मचारीहरुलाई बोलाएर सोधपुछ गरेको छ।

बैठकमा डेडिकेटेड फिडर र ट्रंकलाइनमा देखिएको विवादका विषयमा मन्त्रालयका सचिव घिमिरे, प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक, निमित्त कार्यकारी निर्देशकले जानकारी गराएका थिए।
उनीहरुको जवाफ अपुरो र आफू पन्छिने खालको भएको भन्दै सांसदहरुले थप स्पष्ट हुन खोजका थिए।

समितिका सदस्य राजन केसीले प्राधिकरणले आफ्नो असक्षमता र त्यहाँभित्र रहेको आर्थिक अनियमितालाई ढाकछोप गर्न खोजिरहेको र त्यसलाई उजागर गरिनुपर्ने बताएका थिए।

त्यसैगरी अर्का सदस्य लेखराज भट्टले प्राधिकरणका कार्यकारी निर्देशकले ३ वर्ष देखि उठाउन बाँकी रहेको विद्युत महसुल उठाउन आफूलाई नीतिगत समस्या रहेको भन्ने खालको विरोधाभासपूर्ण अभिव्यक्ति राखेको बताएका थिए। ‘डेडिकेटेड फिर्डर मार्फत उद्योगहरुलाई विद्युत सुविधा दिनु ठिक थियो भने त्यसको महसुल किन नउठाएको? यदि ठिक थिएन भने प्राधिकरण यतिका समयसम्म के हेरेर बसेको थियो?,’ भट्टले प्रश्न गरे।

अर्का सदस्य सरदसिंह भण्डारीले लोडसेडिङ अन्त्य भइसकेपछि पनि लोडसेडिङको बेलामा जस्तै विद्युत महसुल उठाइरहेको भन्दै त्यसले उद्योगी व्यवसायी मर्कामा परेको धारणा राखेका थिए।

कुलमान घिसिङको आक्रोश तब पोखियो, जब सांसद अमनलाल मोदीले कुलमानका विरुद्ध बोल्दा कसैबाट परिचालित भएर बोलेको हो कि भन्ने खालको मानिसमा बुझाई रहेको धारणा राखे। तर, घिसिङ आफैंमा शतप्रतिशत ठिक रहेको र भ्रष्टाचार गर्दैन भन्ने आधार आफूले भने नभेटाएको बताए।

मोदीले प्राधिकरणभित्र अझैपनि नीतिगत भ्रष्टाचार रहेको ठोकुवा नै गरेपछि कुलमान आक्रोशित भएका थिए।

यसरी प्राधिकरणमा आर्थिक अनियमितताका प्रश्नले घेरिएपछि कार्यकारी निर्देशक घिसिङले आफूले 'कुनै प्रकारको आर्थिक चलखेल, भ्रष्टाचार गरेको भेटिए भुण्डिएर मर्न तयार रहेको' बताए।

‘मैले भ्रष्टाचार गरेको भनेर तपाईंहरु प्रमाण लिएर आउनुहोस्, म झुण्डिएर मर्न तयार छु। नत्र सांसद भयो भन्दैमा जे पनि भन्न पाइँदैन,’ घिसिङले जवाफ फर्काए।

यसरी सवाल-जवाफ कै कारणमा सांसद अमनलाल मोदी र घिसिङबीच सामान्य वादविवादको स्थीति सिर्जना भएपछि समिति सभापति भरत कुमार शाहले दोहोरो सवाल-जवाफ नगर्न र संयमित भएर छलफल गर्न निर्देशन दिएका थिए।