काठमाडौं- जुनसुकै सेवाबाट आउनेलाई पनि पराष्ट्र सचिव बनाउने सरकारको प्रस्तावको विरोध सुरु भएको छ।
पूर्व-परराष्ट्रमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सकारले पेस गरेको विधेयक गलत भएको र यसले कूटनीतिक सम्बन्ध कमजोर बनाउने बताएका छन्।
‘परराष्ट्र मन्त्रालयको सचिव जुनसुकै सेवाबाट जानसक्ने गरी सरकारले पेस गरेको विधेयक अनुपयुक्त/गलत छ,’ थापाले ट्विट गरेका छन्, ‘यसले परराष्ट्र सेवाको व्यवसायिक क्षमतामा ह्रास आउने र कूटनीतिक सम्बन्ध कमजोर बनाउने छ। अन्तर्राष्ट्रिय सम्बन्धको महत्व बुझेका प्रमले पक्कै पनि यसलाई सच्याउने विश्वास गर्दछु।’
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि कूटनीतिक सेवा विशिष्ट किसिमको सेवा भएको भन्दै जुनसुकै सेवाबाट लैजाने व्यवस्थाले देशको कुटनीतिक क्षेत्र कमजोर बनाउने उल्लेख गरेका छन्। उनले विधेयक फिर्ता लिनसमेत सरकारलाई सुझाएका छन्।
‘कूटनीतिक सेवा विशिष्ट किसिमको सेवा हो र राष्ट्र हितको मुख्य किल्ला हो,’ कोइरालाले ट्विटरमा लेखेका छन्, ‘परराष्ट्रमा जुनसुकै सेवाबाट सचिव लैजाने प्रावधानले देशको कूटनीतिक क्षेत्र कमजोर बनाउँछ। तसर्थ यो विधेयक फिर्ता गरियोस् र परराष्ट्र सेवामा राजनीति नगरियोस्।’
त्यस्तै, पूवपरराष्ट्र सचिव मधुरमण आचार्यले पनि अन्य सेवाबाट परराष्ट्रको सचिव बनाउन गलत भएको भन्दै कूटनीतिलाई खेलाँची नसम्झन आग्रह गरेका छन्।
प्रस्तावित 'संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक'मा न्याय र लेखा परीक्षणबाहेक अन्य सेवामा जुनसुकै सेवाबाट पदस्थापन गर्न सकिने व्यवस्था गरिएको छ।
शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिमा सहमतिसमेत जुटिसकेको उक्त विधेयकमा सबै सेवाका सचिवलाई आफूले चाहेको मन्त्रालयमा सरुवा गर्न सरकारलाई बाटो खुलाइएको छ।
यसले कुनै पनि सेवाको सचिव तहको पदस्थापन परराष्ट्रमा हुनसक्ने बाटोसमेत खोलिदिएको छ।
यसअघि कूटनीतिक सेवालाई छुट्टै ‘क्लस्टर’ राख्दै परराष्ट्र सचिवलगायतका तहमा त्यही ‘क्लस्टर’को मात्रै हुने व्यवस्था थियो।
परराष्ट्र मन्त्रालयले भने प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विधेयकबारे संसदीय समितिमा असहमति पत्र दर्ता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।