कर्मचारी र सुरक्षाकर्मीकाे 'सेटिङ'मा राजश्व नतिर्‍याई भन्सारबाटै मालबाहक सवारी भित्र्याइने गरेकाे खुलासा

भन्सार कार्यालय भन्छ : अनुसन्धान जारी छ
दीपक घिमिरे | २०७६ जेठ ७ मंगलबार | Tuesday, May 21, 2019 ०९:२८:०० मा प्रकाशित

भैरहवा- प्रज्ञापन पत्र बिना भन्सार कार्यालय बाहिरबाटै छिराइएको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

भैरहवा भन्सार कार्यालयबाट राजश्व नै नतिर्‍याई पठाइएको मालबाहक ट्रकलाई रुपन्देही प्रहरीले भन्सार बिन्दुदेखि ३ किलोमिटरको दूरीमा नियन्त्रणमा लिएको हो। सोमबार राति विशेष सुराकीको आधारमा उक्त ट्रकलाई सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा भन्सार कार्यालयले जारी गर्ने साम्रगीको प्रज्ञापन पत्र नपाइएपछि नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ।

भारतीय जिजे०६एजेड ६३५९ नम्बरको ट्रक भन्सार छलेर भित्राइएपछि प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ। कपडालगायत रहेको साम्रगी लोड रहेको उक्त गाडी भैरहवा नाकाबाट छिरेर काठमाडौं जान लागेको थियो।

मालबाहक गाडी बिना भन्सार स्वीकृति भन्सार कार्यालयबाट बाहिरिएपछि प्रहरीले चेकजाँचको लागि रोक्ने क्रममा चालकले नरोकपछि पुनः ट्रकलाई पछ्याउँदै प्रहरीले नियन्त्रणमा लिएको हो। ट्रकसँगै चालक बलवन्त सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

भन्सार कार्यालयबाटै बिना राजश्व बुझाई सवारीसाधन छुट्नुले कार्यालयका कर्मचारी र सुरक्षा निकायमाथि गम्भीर प्रश्न उब्जिएकाे छ। भन्सार कार्यालयमा ३ स्थानमा सशस्त्र प्रहरी तथा एक ठाउँमा जनपथ प्रहरीकाे सुरक्षा जाँचपछि मात्रै कुनैपनि मालबाहक सवारी नेपाल छिर्न पाउँछन्।

तर, भन्सार कार्यालयबाटै बिना राजश्व बुझाइ सवारी साधन बाहिरिनुले यस कार्यमा भन्सार कर्मचारी र सिमा क्षेत्रमा सुरक्षा जाँचमा खटिएका सशस्त्र प्रहरीको मिलोमतो रहेकाे स्पष्ट हुन्छ।

भन्सार कार्यालय भन्छ : कर्मचारी र सुरक्षाकर्मीको कमजोरी

भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले भन्सार बिना नै मालबाहक ट्रक बाहिरिएको स्वीकार गरे। उनले कर्मचारीको कमजोरीका कारण गाडी भन्सार नगराई गएको उल्लेख गरे। प्रमुख भट्टराईले यस विषयमा अनुसन्धान भइरहेको बताए।

भारतबाट जिपिएस सिस्टमबाट लकिङ गरी साे मालबाहक ट्रक नेपाल आएको र भन्सार कार्यालयतर्फ नछिरी बाहिरबाटै गएको उनले उल्लेख गरे। उनले बाटोमा चेकिङमा बस्ने कार्यालय सहयोगी र सशस्त्र प्रहरीको कमजोरीका कारण ट्रक भन्सार नगराई बाहिरी बाटोबाटै गएको भन्दै आफ्नो बचाउ गरे।

'भन्सारका कर्मचारी मात्र मिलेको छ भनेर कसरी भन्ने? यहाँ त सशस्त्र प्रहरीकाे जाँच नै २/३ ठाँउमा हुन्छ, एक ठाँउमा जनपथ प्रहरी पनि छ, त्यहाँबाट कसरी गाडी छिर्‍यो त भन्ने विषयमा मैले अनुसन्धान गरिरहेको छु,' उनले नेपाल लाइभसँग भने।

यसअघि पनि पटक-पटक भैरहवा भन्सार कार्यालयबाट बिना प्रज्ञापन पत्र मालबाहक सवारीसाधन छिराउने गरिएको थियो।

पक्राउ परेका व्यक्ति र गाडीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।