काठमाडौं– अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने उद्देश्यले नेपाल आएका थप ८ जना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार दिउँसो बबरमहल र ठमेलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उतरप्रदेश प्रतापगढका ३० वर्षीय महोमद जिया, उत्तरप्रदेशकै ३५ वर्षीय नितिन श्रीवास्वत, कानपुरका ४३ वर्षीय रवि तिवारी, प्रयागराजका ३२ वर्षीय अटल त्रिपाठी, उत्तरप्रदेशका ३० वर्षीय महोमद सेयाफ, कुशीनगरका २९ वर्षीय मरुलएन वारसी, उत्तरप्रदेशका ३२ वर्षीय तेजनारायण शुक्ला र प्रयागराजका ४० वर्षीय राजेशकुमार शुक्ला छन्।
भारतबाट काठमाडौं आई गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठूलो रकम ठगी गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। २ जना बबरमहलबाट पक्राउ परेका थिए भने ६ जनालाई ठमेलस्थित बैशाली होटलबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गरिएका मध्ये महोमद जिया र मोहम्मद नुरुलेनको साथबाट नेपाली रुपैयाँ ३३ लाख ५० हजार र भारतीय रकम गरी जम्मा ४२ लाखसमेत बरामद भएको प्रहरीले जनाएको छ। साइन ग्रुपको नामबाट संगठित रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने उनीहरुको उद्देश्य रहेको प्रहरीले जनाएको छ।
२५ सय, ५ हजार, १० हजार डलर रकम उक्त कम्पनीमा जम्मा गरेमा त्यस बराबरको रकम कम्पनीबाट थप गरी दिने र प्रत्येक महिना त्यसको ६ प्रतिशत रकम थपिदिने भन्दै प्रलोभन देखाएर ठग्ने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
यसअघि बैसाख २८ गते सोही कम्पनीका १२ जनालाई प्रहरीले याक एन्ड यती होटलबाट पक्राउ गरेको थियो। त्यसबेला भारत इलाहाबादका ३१ वर्षीय मोहम्मद साइजिल, सोही ठाउँका ३३ का अजितकुमार सिंह, भारत छत्तीसगढका ४५ वर्षीय निरजकुमार मिश्र, उत्तरप्रदेशका ४३ वर्षीय अशोक कुमार, छत्तीसगढकै ४३ गिरिश उपाध्याय, भारतकै सोनभद्र ४० वर्षीय रमेश राम पक्राउ परेका थिए।
त्यसैगरी भारत गुजरातका २२ वर्षीय आयुश उपाध्याय, उत्तरप्रदेशका ३८ का सुनिल उपाध्याय, लखनउका ३२ वर्षीय कसिफ सकिल, सोही ठाउँ सारामाइला बस्ने ३२ वर्षीय गजेन्द्रकुमार सिंह, नयाँदिल्लीका ४३ वर्षीय रसिद नसिम र बेङ्लोरका ३५ वर्षीय ३५ वर्षीय महेन्द्र सिंह पक्राउ परेका थिए।
प्रहरीले उनीहरुको साथबाट १७ थान मोबाइल, १ थान आइप्याड, १ थान ल्यापटप, ३ थान मेमोरी कार्ड र १ थान हार्डडिस्क बरामद गरेको थियो। उनीहरु अहिले प्रहरी हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।